विराटनगर । लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।
मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो । झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नविन राईले बताए ।
लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपीमा पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।
पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।
दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं। ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जानकारी दिए ।
यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।