
तुलसीपुर । शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरका कक्षा ११ र १२ मा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुसँग इलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले प्रहरी–नागरिक बिचको सम्बन्ध नङ र मासु जस्तै भएको बताए ।
वर्तमान परिस्थितिमा प्रहरी बिना समाजको परिकल्पना गर्न नसकिने उनको भनाइ थियो। समाजमा बस्ने हरेक व्यक्ति बर्दी बिनाको प्रहरी हुन्। समग्रमा समाजमा सद्भाव र शान्ति कायम गर्न जति नेपाल प्रहरीको भूमिका छ, त्यो भन्दा बढी समाजमा बस्ने नागरिकको पनि त्यति नै दायित्व हुन्छ त्यसैले प्रहरी र नागरिक बिचको सुमधुर सम्बन्धलाई अझै मजबुत बनाउन एकदम अपरिहार्य रहेको उनको धारणा थियो।

केही वर्ष अगाडीको नेपाल प्रहरी र अहिलेको प्रहरी-नागरिक बिचको सम्बन्ध झन् उदाहरणीय बन्दै गएकोमा उनले खुशी व्यक्त गरे । वास्तवमा प्रहरी र नागरिक बिचको समधुर सम्बन्धले नै लागुऔषध, गुण्डागर्दी, बालविवाह, हिंसा, अत्याचार, हत्या, बलात्कार, चोरी–डकैती तथा महिला–बालबालिका माथि हुने विभिन्न प्रकारका हिंसालाई निराकरण गर्न निकै टेवा पुग्ने भएकोले नागरिकले अझै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन समेत जरुरी रहेको कुरामा उनले जोड दिए।
विद्यालयका शैक्षिक संयोजक शरद गौतमको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ता अर्यालले सामाजिक संजालमा देखिएको विकृतिसंगै बढ्दो साईवर क्राईम, लागु औषध दुर्व्यसनले समाजमा पारेको नकारात्मक प्रभाव लगायत बिभिन्न विषयमा पनि प्रकाश पारेका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, कानुन विषयका शिक्षक उत्तम भण्डारी र सोमराज बस्नेत लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तुफानबाबु श्रेष्ठले गरेका थिए ।