मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा मोटरसाइकल र कार एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही–३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस