तुलसीपुर। नेपाल नेत्रज्योति संघ दाङको १८ औं साधारणसभा मंगलबार रक्षाचौरमा सम्पन्न भएको छ । सो अवसरमा सहभागी नेतृत्वहरुले अब नेत्रज्योति संघद्धारा सञ्चालित अस्पताललाई नेत्र विज्ञान अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रुपमा अघि बढाइने पनि उद्घोष गरेका छन् ।
स्थापनाकालको करीव डेढ दशकको अवधिमा नेत्रज्योति संघ दाङद्धारा सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौर, छन्दकालेबाबु आँखा अस्पताल बहादुरगंज र लमही आँखा अस्पतालले कम्तिमा ३१ लाख ७३ हजार भन्दा बढी आँखा रोगीहरुको उपचार गरिसकेको छ । त्यसमध्ये करीव २ लाखको शल्यक्रिया समेत गरिएको साधारणसभाका अवसरमा प्रमुख प्रशासकीय अधिकृत सम्सेर थापाले जानकारी दिएका छन् । अधिकृत थापाले नेपालसंगै लुम्विनी प्रदेशभरमा नेत्रज्योतिको समस्या भएका विभिन्न प्रकृतिका विरामीहरुको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।

नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथिको मन्तव्य दिंदै संघका सल्लाहकार तथा तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर ढुण्डिराज लामिछानेले अस्पतालले गर्दै आएको आँखा उपचार सेवाको रिपोर्टिङ सन्तोषजनक भएको भन्दै यसलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउन आग्रह गरे ।
‘अस्पतालको रिपोर्टिङ विश्लेषण गर्दा हामी सन्तुष्ट छौं, तर यसैमा रेष्ट गर्नुपर्ने अवस्था भने होइन, अझै उपचार सेवालाइ प्रविधिमैत्री र थप प्रभावकारी बनाउन नेतृत्व वर्गलाइ आग्रह गर्दछु’, प्रमुख अतिथि लामिछानेले भने । उनले नेपाल नेत्रज्योति संघ दाङ शाखाले सञ्चालन गरेको आँखा उपचार सेवा पश्चिम नेपालकै अनुकरणीय भएकाले यो शाखालाई दाङ शाखाको साँघुरो घेराबाट मुक्त गराएर प्रदेशकै नेतृत्व गर्न सक्ने गरी केन्द्रमा लविङ गर्न पनि आग्रह गरे ।
साथै उनले आँखा उपचार सेवालाई जनउत्तरदायी र स्थानीय सरकारसंग जोड्नका लागि हरेक पालिकामा आँखा उपचार हेल्प डेक्स स्थापना गर्न पनि सुझाव दिए । साथै अस्पताललाई रिसर्च सेन्टरका रुपमा स्तरबृद्धि गर्नका लागि आफुले पनि सम्बन्धित क्षेत्रमा पहल गर्ने पनि उनको आश्वासन थियो ।
अस्पतालले पछिल्लो समयमा सिटिइभिटिको सम्वन्धन प्राप्त गरी अप्थाल्मिक असिस्टेन्टको पठनपाठन सुरु गरेको छ । हालसम्म यसले ११७ जना नेत्र सहायक उत्पादन समेत गरिसकेको छ । साधारणसभामा जानकारी दिइएअनुसार अब राप्ती आँखा अस्पतालमै स्नातक तहसम्मकै अध्ययनको व्यावस्थापनका लागि पोखरा विश्वविद्यालयसंग सम्वन्धनका विषयमा छलफल समेत भैरहेको पनि साधारणसभाका अवसरमा जानकारी गराइएको छ । अस्पतालमा आँखा रोगमा रेटिना, अकुलोप्लाष्टि तथा नानी प्रत्यारोपणसम्मको विशेषज्ञ सेवा उपलव्ध हुंदै आएको छ ।

नेपाल नेत्रज्योती संघ दाङ शाखाका उपसभापति रेशम वहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासनिक संयोजक चिरन्जीवि रिजाल, लमही आँखा अस्पतालका घनश्याम सुवेदी तथा वहादुरगन्ज आँखा अस्पतालका प्रशासनिक संयोजक सीता चौधरीले आआफ्नो अस्पतालले बर्षभरी सम्पन्न गरेका कामका विषयमा प्रस्तुती देखाएका थिए ।
तीनवटै अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सम्सेर थापाले अस्पतालले स्थापनाकालदेखि हालसम्म सम्पादन गरेका उपचार सेवाको फेहरीस्त प्रस्तुत गर्दै अस्पतालका भावि योजनाका विषयमा पनि जानकारी गराएका थिए ।
साधारणसभाका अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य गेहेन्द्र वली, नेकपा एमालेका उपसचिव कृष्ण भुषाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष जिवन भण्डारी, मानव अधिकार तथा शान्तिसमाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शुशिल बस्नेत, ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, पत्रकार शरद रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका सचिव शुरेन्द्र खड्काले बार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव शुरेन्द्र खड्काले गरेका थिए ।
साधारणसभाको बन्द सत्रले सचिव खड्का र कोषाध्यक्ष आचार्यले प्रस्तुत गरेका प्रतिवेदनको सर्वसम्मत रुपमा अनुमोदन गर्दै संघलाई प्रभावकारी बनाउन र थप क्रियाशील बनाउनका लागि सदस्यता थप गर्न कार्यसमितिलाई आग्रह गरेको थियो । संघद्धारा सञ्चालित अस्पतालहरुले तीन अस्पतालमा विशेषज्ञ उपचार सेवासंगै लुम्विनी प्रदेश मात्र नभएर कर्णाली प्रदेशसम्मका स्थानीयबासीलाई पनि आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । केहि जिल्लामा आँखा उपचार केन्द्र तथा केहि जिल्लामा साप्ताहिक क्लिनिक समेत सन्चालन गर्दै आएको छ ।


