दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीका लागि गठित उपसमितिहरुले आआफ्ना तयारी अन्तिममा पुगेको उपसमितिहरुले जनाएका छन् ।
संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिंगौरामा प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनीको लागि प्रचार प्रसार, चिठी पत्र पठाउने, भेटघाट, छलफल कार्य समेत अन्त्यमा पुगेको मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । प्रदर्शनी स्थलमा स्टल, गेट निर्माण, मञ्च निर्माण, बाल उद्यान्नका कामको तयारी अन्तिममा पुगेको भौतिक निर्माण उपसमितिका संयोजक भरतप्रसाद रेग्मीले जानकारी दिए ।
प्रदर्शनीलाई मर्यादित तथा व्यवस्थित बनाउन सबै उपसमितिले काम अगाडि बढाएको मुल आयोजक समितिका सहसंयोजक महेन्द्र बुढाथोकीले बताए । अहिले सबै उपसमितिहरुले आफनो जिम्मेवारीअनुसार आफ्नो कामलाई तिव्रता दिएको मुल आयोजक समितिले जनाएको छ ।
साहित्यिक तथा सृजना उपसमिति विस्तार गरिएको छ । उपसमितिका जगतप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले समिति विस्तार गरेको छ । समितिको सहसंयोजमा कमलमणि देवकोटा रहेका छन् । समितिको सदस्यमा डा.लोकराज पराजुली, खगराज न्यौपाने, भुवन देवकोटा, दिपक शर्मा समिर, विष्णुप्रसाद पोख्रेल रहेका छन् ।
समितिको बैठकले खुल्ला कविता प्रतियोगीता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा सहभागिता हुन इच्छुकहरुले यही आउँदो चैत १ गतेसम्म दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा राप्ती साहित्य परिषद्मा पठाइ सक्नु पर्ने साहित्यिक तथा सृजना उपसमितिका संयोजक आचार्यले जानकारी दिएको दाङ जिल्ला उद्योग बाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।