काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि एक सय न्यायाधीश, र ७ सय उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।
जिल्ला न्यायाधीश र न्यायसेवाका कर्मचारीहरुले नपुग्ने भएपछि आयोगले निजामती सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाउने गृहकार्य गरेको हो । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ ।
आयोगका अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा जिल्ला न्यायाधीशले नै निर्वाचन अधिकृतको काम गर्नेछन् ।
अरु स्थानीय तहमा न्याय तथा कानून सेवाका उपसचिवहरु खटाउने तयारी गरेको हो । उनीहरुले समेत नपुगेको ठाउँमा प्रशासन सेवाका उपसचिव खटाउने तयारी छ ।
७७ वटा जिल्लाका ‘एक नम्बर’ न्यायाधीशलाई सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत बनाउने आयोगको तयारी रहेको प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले बताए ।
स्थानीय तह निर्वाचन ऐनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सम्पन्न गराउने आयोगको प्रतिनिधिको रुपमा तोकिएको छ ।
निर्वाचन आयोगले करिव ६० दिन काम गर्नेगरी निर्वाचन अधिकृतहरुलाई नियुक्त गर्ने तयारी थालेको छ । आगामी चैत १० गतेदेखि नियुक्त गर्ने र त्यसलगत्तै उनीहरुले काम थाल्ने आयोगको योजना छ ।