तुलसीपुर । रोल्पालाई दाङसँग जोड्ने होलेरी—बिजौरी—जलकुण्डी सडकखण्डको सुगुरखोलामा निर्माण गरिएको कल्भर्ट विहीबारदेखि सञ्चालनमा आएको छ । सुगुरखोला कल्पर्ट सञ्चालनमा आएसँगै अब खोलाबाट गाडि आवतजावत गर्नुपर्ने समस्या टरेको छ । अब सुगुरखोलाभन्दा उत्तरपट्टि रहेको ग्वारखोलामा पक्कि पुल बनेपछि सो सडकबाट बाह्रै महिना साना ठुला सवारीसाधन सञ्चालनमा आउन सक्ने छन् ।
बिजौरीलाई होलरी, दहवन हुँदै स्वर्गद्वारीसम्म जोड्ने यो पर्यटन मार्गलाई बाह्रै महिना सञ्चालनमा ल्याउन बिजौरी उद्योग वाणिज्य संघले पहल गरेको थियो । बिजौरी उद्योग वाणिज्यसंगको अगुवाइमा सर्वपक्षीय/सर्वदलीय छलफल समेत भएपछि तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सुगुरखोलामा पक्कि कल्भर्ट निर्माणका लागि दश लाख रुपैया विनियोजन गरेको थियो ।
निर्माणको काम सम्पन्न भएपछि विहीबारदेखि विधिवत रुपमा सो कल्भर्टबाट यातायात सेवा सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी तथा बिजौरीका स्थानीयबासी मस्त बहादुर थापाले बताएका छन् ।
होलरीलाई बिजौरीसँग जोड्ने यो सडकले बिजौरीबाट मानपुर हुँदै पूर्व पश्चिम राजमार्गको जलकुण्डीलाई पनि जोड्ने गरी सडकको स्तरोन्नतिका लागि प्रदेश सरकार एवं संघीय सरकार स्थानीय सरकारसँग पनि पहल भैरहेको बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिएका छन् ।
ग्वारखोला रोल्पाको क्षेत्र भएकाले रोल्पाको रुम्टिगढी गाउँपालिकासँग ग्वारखोलामा पक्कि पुल निर्माण तथा सडकालाई बाह्रै महिना सुचारु गर्ने सन्दर्भमा पनि छलफल भैरहेको अध्यक्ष योगीले बताएका छन् । यो सडकले बिजौरी क्षेत्र पनि व्यापारिक केन्द्र बन्ने संघले अपेक्षा गरेको छ ।
सडक सहज भएसँगै दहवन र होलरीभन्दा दक्षिण क्षेत्रका रोल्पाबासीहरुले छोटो समयमै बिजौरीसम्म यातायात सेवा पबउने छन् भने त्यस क्षेत्रको कृषि उपजलाई पनि बिजौरी लगायत तुलसीपुर बजारमा खपत गर्न सकिने छ ।