बिजौरी । नेपाल संस्कृत विश्वविद्यालयको मुख्य प्रवेशद्वार निर्माण सुरु भएको ११ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । यसले नेपाल संस्कृत विश्वविद्यालयको प्रशासनिक एवं व्यावस्थापकीय हविगतलाई छताछुल्ल बनाइदिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रवेशद्वार निर्माण गरेर सञ्चालन गर्न मात्रै एक दशकभन्दा बढी समय लाग्छ भने विश्वविद्यालय व्यवस्थापनबाट समग्र समृद्धिको कस्तो अपेक्षा गर्ने ? आम नागरिकलाई यसले एक पटक सोचनीय बनाएको छ ।
विश्वविद्यालय केन्द्रीय कार्यालयको प्रशासन शाखामा यो गेट निर्माण कहिलेदेखि सुरु भयो ? कति लागत लाग्यो ? कति समय काम भयो ? भन्ने लगायतका धेरै प्रश्नहरुको उत्तर पाउन सकिंदैन, तर पनि प्रशासन शाखाले बडो मेहनेत गरेर खोजीखोजी उपलब्ध गराएको तथ्यांकले यो गेट निर्माणको प्रक्रिया वि.सं. २०६७ फागुन १४ गतेको विश्वविद्यालय कार्यकारी परिषदको बैठकले घोराही तुलसीपुर राजमार्गसँग जोडेर केन्द्रीय कार्यालयको उत्तरतर्फ मुख्य प्रवेशद्वार बनाउने निर्णय गरेको देखाउँछ । केही भेटिएका कागजातअनुसार सोहि वर्ष गेट बनाउने ठेकेदारलाई २ लाख ७३ हजार ८ सय १५ रुपैया भुक्तानीका लागि टिप्पणी उठाएको देखिन्छ । तर ठेकेदारले अझैसम्म पनि आफुले भुक्तानी नपाएको गुनासो विश्वविद्यालय प्रशासन समक्ष गर्दै आएका छन् । अमानतमा निर्माण सुरु भएको सो गेट यहीँकै ठेकेदार लालबहादुर पुनले निर्माण गरेका थिए ।
‘माथि उल्लिखत रकम त मजदुरहरुको ज्याला मात्रै हो, यसमा के कति सामान प्रयोग भयो भन्ने एकिन विवरण अहिले उपलब्ध हुन सकेन’ – नेपाल संस्कृत विश्वविद्यालय प्रशासन महाशाखा प्रमुख गिरीराज अधिकारीले भने । गेट निर्माण त सुरु भयो । तर विभिन्न प्राविधिक कारण देखाइ पटक पटक निर्माणलाई अन्तिम स्वरुप दिन रोकियो । तात्कालीन रजिष्टार कार्तिकेय झाका पालामा सुरु भएको यो गेट निर्माण अझैसम्म पनि सकिएको छैन । यसबीचमा नेपाल संस्कृत विश्वविद्यालयमा चार जना उपकुलपतिहरु नियुक्त भैसकेका छन् । कैयन कर्मचारी एवं विभागीय प्रमुखहरु पनि पेन्सनमा निस्किसकेका छन् । तर गेट सञ्चालनमा आउन सकेको छैन । ‘के कति कारणले निर्माण सम्पन्न हुन सकेन, त्यो त जानकारी भएन, तर निर्माणकै क्रममा पटक पटक ब्रेक भएको भने यथार्थ हो’, विश्वविद्यालयका एक जना कर्मचारी भन्छन्, रोक्नुको कारण कर्मचारीलाई जानकारी हुँदैन, पदाधिकारीलाई नै सोध्नुहोला ।
गेटलाई गुणस्तरीय एवं नेपालकै विश्वविद्यालयको नम्बर १ बनाउन तात्कालीन रजिष्टार कार्तिकेय झाले सिमेन्ट समेत हेटौडा सिमेन्ट उद्योगमै पुगेर त्यहिकै गाडिमा यहाँ ल्याउनु भएको थियो । सरिया पनि बाहिरकै ल्याइएको थियो । अन्य कच्चा पदार्थ के कति रकमको खर्च भए, विश्वविद्यालयसँग कुनै रेकड देखिंदैन, देखिन्छ त गेट दश वर्ष बितिसक्दा पनि नबनेको ।
सडक विभागले आफ्नो क्षेत्राधिकार लिन थालेपछि नेपाल संस्कृत विश्वविद्यालयले पनि सडकको क्षेत्र छाडेर उत्तर तर्फको पर्खाल केही पर सारेको थियो, दक्षिणतर्फ तारजाली मात्र भएकाले नयाँ पर्खाल त्यसैताकादेखि निर्माण गरिएको थियो । पक्की पर्खाल बनाएसँगै विश्वविद्यालयको प्रवेशद्वार पनि उत्तरतर्फबाटै सञ्चालनको प्रयास स्वरुप गेट निर्माण सुरु भएको विश्वविद्यालयका पुराना कर्मचारीहरु बताउँछन् ।
धेरै वर्षसम्म मौन रहेको गेट निर्माण कार्यले फेरी निरन्तरता पाउन थालेको छ । विश्वविद्यालयमा माधव प्रसाद अधिकारी रजिष्टार नियुक्त भए पनि निर्माणले निरन्तरता पाउन थाल्यो । रंगरोगन लगायत विश्वविद्यालयको नाम आर्ट गर्ने काम सुरु भएको छ । तर यो काम पनि विश्वविद्यालयको गतिविधि जस्तै सुस्त छ । ‘एक महिनाभन्दा बढी भयो, चार लाइनको साइनवोर्ड तयार भएको छैन’–एक जना कर्मचारीले भने, यो विश्वविद्यालयको पुरानै संस्कार हो । संस्कृत विश्वविद्यालय कहिल्यै हतार गर्दैन ।
साइनवोर्ड लेखनको काम सम्पन्न भएपछि विश्वविद्यालयले एउटा सुन्दर र आकर्षक डिजिटल बोर्ड पनि सोहि प्रवेशद्वारमा राख्ने तयारी गरेको छ । प्रति स्क्वायर फिट करीव ५ हजार मुल्यले करीव डेढलाख मुल्य तिरेर डिजिटल बोर्ड ल्याइसकिएको छ । तर कहिले डिजिटल बोर्ड राख्ने हो, कुनै निश्चित छैन । प्रवेशद्वार एक महिनाभित्रै सञ्चालनमा आउने नेपाल संस्कृत विश्वविद्यालयले जनाएको छ । यो गेट सञ्चालनमा आएपछि उत्तरतर्फको प्रवेशद्वार बन्द गर्ने भनिएको छ । तर चारलेनले खस्रेको खाडल तरेर कसरी सवारी आवतजावत गर्लान् यो गेटबाट ? यसको कुनै योजना विश्वविद्यालयसँग छैन । लाग्छ, गेट तयार भैहाले पनि चाँडै यो सञ्चालनमा आउने छैन । फेरी बाहना बनाइने छ, प्रवेशद्वार सञ्चालनलाई चारलेनले छेक्यो । तर चारलेन सडक विवादको भुमरीमा परिरहेको छ । यसले विश्वविद्यालयको प्रवेशद्वार सञ्चालनलाई पनि पछि धकोल्ने विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् ।
साक्षी खबरबाट