‘लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्नेमा जोड’

तुलसीपुर । नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश दाङले संघको पाँचौ स्थापना दिवसको अवसरमा तुलसीपुरमा शुभकामना आदान प्रदान तथा एक दिने लेखा व्यवस्थापन तालिम कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक अडिटर्श एसोसिएसन अफ नेपाल दाङ शाखाका अध्यक्ष ललित बहादुर घर्तीले करसँग सम्बन्धित आधारभूत विषयवस्तुमा प्रकाश पारेका थिए । उनले कार्यक्रममा कुनै पनि व्यवसाय गर्ने व्यक्तिले खरिद-बिक्री बिल, खरिद-बिक्री खाता, स्टक तथा खर्च विवरण लगायत सम्पूर्ण लेखा प्रणाली चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिएका थिए ।

संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शेषकान्त ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । करिव २५ जना औषधी थोक व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा संघका कार्यसमिती सदस्य शरदराज शर्मा र देव बहादुर बस्नेत लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा संघका सचिब दीपेन्द्र न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव तुफानबाबु श्रेष्ठले गरेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस