अस्पताल क्वाटरमा औषधि सप्लायर्सको गोदाम

विजौरी । तुलसीपुर उपमहानगरपालिका—१८ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको चिकित्सकको क्वाटरमै औषधि कम्पनीको सप्लायर्स सञ्चालनमा आएको छ । अस्पतालकै छात्रवृत्ति करारमा नियुक्त एक जना चिकित्सकले अस्पतालको क्वाटरबाटै यस्तो व्यापार व्यावसाय सञ्चालन गर्दे आएको समाचार श्रोतले बताएको छ ।

अस्पतालमा कार्यरत डा. शिवराज सुवेदीले आफ्नै क्वाटरमा औषधि स्टोर राखेर अस्पतालकै फार्मेसी लगायत जिल्लाका विभिन्न मेडिकलहरुलाई औषधि सप्लाई गर्दै आएका छन् । उनको दाङ जिल्लामा कुनै आधिकारिक स्टोर छैन । नेपालगञ्जमा रहेको ईश्वर आयुमेडिसिन फर्मको नाममा उनले दाङ जिल्लाभर आफैले सम्पर्क स्थापित गरी औषधि विक्रिवितरण गर्दै आएको बताइएको छ । अस्पताल प्रशासनले यसलाई दुरुत्साहन गर्नुको साटो आफैले सञ्चालन गरेको अस्पताल फार्मेसीमा समेत सोहि फर्मबाट औषधि खरीद गर्ने गरेको बताइएको छ । डा. सुवेदी ईश्वर आयुमेडिसिनका होलसेलर हुन् ।

त्यसैगरी अस्पतालमा अन्य विसंगतिहरु पनि फेरी देखिन थालेको सेवाग्राहीहरुले बताएका छन् । अस्पतालको ओपिडिमा जम्मा दुई जना प्यारामेडिक्सका भरमा सञ्चालन भैरहेको छ । यसअघि ५ जना प्यारामेडिक्सलाई भ्याइनभ्याइ हुने ओपिडिमा कार्यरत एक जना प्यारामेडिक्स लामो सुत्केरी विदामा छिन् । एक जना प्यारामेडिक्सलाइ बुटवल काजमा पठाइएको छ भने अर्का एक जनालाई अस्पताल फार्मेसीमा सारिएको छ । यसले गर्दा बिरामीको उपचारमा चिकित्सकलाई सघाउने प्यारामेडिक्सकै अभाव देखिएको हो ।

त्यस्तै अस्पताल फार्मेसी पनि कार्यालय समयमा मात्रै सञ्चालनमा आउँदा अन्य समयमा आवश्यक औषधिका लागि विरामीले अस्पताल बाहिर जानुपर्ने बाध्यता रहेको छ । औषधि पसल २४ सै घण्टा सञ्चालनमा आउनुपर्ने पनि विरामीहरुले गुनासो गर्दै आएका छन् । मेसुको पनि अस्पतालमा दुई बजेसम्म मात्रै उपस्थिति हुने गुनासो पनि सेवाग्राहीहरुले गर्दै आएका छन् ।

अस्पतालका निमित्त मेसु डा. महेश खनालले भने अस्पतालको क्वाटरबाटै औषधि व्यापार हुने भन्ने आफुलाई जानकारी नपाएको बताए । आफु पनि आफ्नो ड्युटी समयमा अन्यत्र निजी क्लिनिकमा जाने भन्नेमा कुनै आधिकारिकता नभएको पनि उनले बताएका छन् । फार्मेसीको समय बढाउने प्रयास भैरहेको बताउंदै प्यारामेडिक्सको दरवन्दीनै अपुग भएकाले समस्या भएको डा. खनालले स्वीकार गरेका छन् ।
साक्षीखबरबाट

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस