लुम्बिनी प्रदेशले स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले मंगलबार (आज) आफ्नो स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको हो ।

प्रदेश राजधानीका धेरैजसो काम प्रदेश मुकाम बुटवलबाट सञ्चालन भइरहे पनि स्थापना दिवस भने दाङको देउखुरीमा मनाउने तयारी गरिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहको तयारी पूरा भएको जानकारी दिए ।

प्रदेश स्थापना दिवसका अवसरमा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत, प्रदेशको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पदक तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकिएपछि केही मन्त्रालय र कार्यालयहरु मात्रै राप्ती गाउँपालिकामा सारिएका छन् । साथै प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस