तुलसीपुर । तुलसीपुरमा इरम फुटवेयर चप्पल गोदाममा आज भएको आगलागीमा परी मृत्यु भएको पाँचै जनाको पहिचान भएको छ ।
एउटा परिवारका दुईजना र अर्को परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० वर्षीय नगरदिन अली, उनका १३ वर्षीया छोरी सुजिता खातुन अली र ५ वर्षीय छोरा अविददिन अली रहेका छन् ।
त्यस्तै सुर्खेत घर भई हाल भाडामा बस्दै आएका १६ वर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकस रहेका छन् । मसिन र हसन जुत्ता, चप्पल पसल सञ्चालकका छोराहरु हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । सोही घरमा शुक्रबार विहान २ बजेतिर आगलागी भएको हो । पहिलो तलाबाट आगलागी सुरु भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।
साथै शोकमा तुलसीपुर बजार बन्द हुने भएको छ ।शुक्रबार तुलसीपुर बजार बन्द गरिएको तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब विनिल केसीले जानकारी दिए ।