निर्वाचन आयोगले विद्युतीय मतदानको सम्भावनाबारे आईटी विज्ञसँग छलफल गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताए । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको छ । त्यसको सम्भावनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ ।

कार्यदललाई आर्थिक र प्राविधिक पक्षबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ । आर्थिक र प्राविधिक दृष्टिकोणले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त देखिएमा राजनीतिक सहमति कायम गरेर अघि बढ्ने आयोगको तयारी छ ।

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस