विभिन्न पदमा १७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ ।

विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार आयोगले एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको तर ३५ हजार ५४५ जनाले मात्रैले फारम दस्तुर बुझाएका छन् ।

यस्तै निम्न माध्यामिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जनाले आवेदन दिएको मध्ये ८५ हजार ६५३ जनाले फारमको रकम बुझाएका छन् ।

त्यस्तैगरी प्राथमिक तहको १३ हजार ९३ पदको लागि भएको विज्ञापनमा एक लाख १५ हजार ३५१ जनाले आवेदन दिएका छन् भने एक लाख १३ हजार ३८७ जनाले फारम भरेको रकम बुझाएको आयोगले जनाएको छ ।

आयोगको तथ्यांक अनुसार इच्छुक उम्मेद्वारले फारमको संख्या भन्दा फारम भरे बापत तिरिने रकम बुझाउनेको संख्या कम देखिएको छ । यस्तो हुनुको कारण कुनै उम्मेदवारले फाराम भरेर रकम नतिरि फेरि अर्को जिल्लाबाट फाराम भरि पैसा तिर्दा संख्यामा फरक पर्न गएको अनुमान गरेको छ ।

आयोगले मंसिर २९ अनुसार माध्यामिक तहको विज्ञापन गरी माघ ८ सम्म आधारभूत तहमा १७ गतेसम्म र प्राविका लागि २२ गतेसम्म फारम भर्ने समयसीमा तोकेको थियो ।

आयोगले प्रदेश अनुसार मावि तहमा आवेदन दिनेहरु सबै विषयमा प्रदेश १ बाट सबैभन्दा बढी र कर्णालीबाट सबैभन्दा कम आवेदन परेको छ ।

शिक्षक सेवा आयोगले केन्द्र निर्धारणको जिम्मेवारी प्रदेश निर्देशनालयलाई दिएको छ । आयोगले प्रदेश अनुसार आएको आवेदनको आधारमा प्रदेशलाई केन्द्र व्यवस्थापन गर्न सबै प्रदेशलाई पत्राचार गरेको जनाएको छ ।

माध्यामिक तहको शिक्षक पदको लागि केन्द्रमा परीक्षा सञ्चालन गर्न समस्या नदेखिए पनि निम्न माध्यामिक तह र प्रावि तहमा भने आवेदन दिने उम्मेद्वारको संख्या बढी भएकोले प्रदेश निर्देशनालयलाई जिम्मेवारी दिएको आयोगको भनाई छ ।

आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ । ओएमआर (अप्टिकल मार्क रिडिङ) प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने आयोगको तयारी छ ।

चैतमा भएको परीक्षाको नतिजा प्राविधिक समस्या नभएको खण्डमा दुई महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता मरहठ्ठा भन्छन् ‘प्रविधिले धोका नदिए, सिस्टमहरु सबै अपडेट भए हामी दुई महिनाभित्रमा सामान्य तर्फको नतिजा सार्वजनिक गर्छौं ।’

सामान्य परीक्षामा पास हुन कम्तिमा ५० अंक ल्याउनुपर्छ । सामान्य परीक्षाबाट विषयगत परीक्षामा सहभागी हुन योग्य भएका उम्मेद्वारलाई जेठ अथवा असार पहिलो हप्तामा आयोगले विषयगत परीक्षा लिने तयारी गरेको छ । विषयगत परीक्षा भएको ढिलोमा ६ महिनाभित्र शिक्षकलाई कक्षा कोठामा पठाउने तयारी गरेको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता मरहठ्ठाका अनुसार कार्ययोजना अनुसार विषयगत परीक्षा भएको सकेसम्म छिटो र बढीमा ६ महिनाभित्र नतिजा सार्वजनिक गरिने छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस