भोलिदेखि फेरि पानी पर्ने सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले फेरी पानी पर्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।

मौसमविदले यसअघि नै नेपालमा हिउँदमा पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका थिए । यस वर्षको हिउँदमा झण्डै सरदर वर्षा भएको छ । हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ । तर यस वर्षको हिउँद सकिन बाँकी छँदै ५७।७ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस