मुहान क्षेत्रमा उत्खनन् रोक्ने चेतावनी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ३ र ४ नक्बर वडालाई मुख्य क्षेत्र बनाएर हुन थालेको चुनढुंगा उत्खनन् रोक्न सबै दलहरु एक भएका छन् । सोमबार तुलसीपुर खानेपानीमा आयोजना भएको सर्वदलीय/सर्वपक्षीय कार्यक्रममा सहभागीहरुले खानेपानीको मुहान क्षेत्रमा चुनढुंगा उत्खनन्का सबै प्रक्रियाहरु तत्काल रोक्न पनि सम्बन्धित सुनगाभा माइनिङ प्रालिलाई चेतावनी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई खानेपानी आपुर्ति गर्दै आएको तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान रहेको अम्वास क्षेत्रमा चुनढुंगा उत्खनन्को प्रयास सार्थक हुन नदिने चेतावनी तुलसीपुर क्षेत्रका वहुसरोकारवाला संस्थाका प्रतिनिधिहरुले दिएका छन् ।

स्थानीयबासी तथा जनप्रतिनिधिहरुलाई झुक्याउँदै सुनगाभा माइनिङ प्रालिले अम्वास र राम्री क्षेत्रको कम्तिमा ९ किलोमिटर क्षेत्रबाट चुनढुंगा उत्खनन्को प्रक्रिया अन्तिम चरणमा पुर्याएको अनौपचारिक जानकारीपछि सोमबार तुलसीपुर खानेपानीले चुनढुंगा उत्खनन्का सम्पूर्ण प्रक्रियाहरु रोक्न वहुसरोकारवाला संस्थाहरुको प्रतिनिधिमुलक वहस कार्यक्रम आयोजना गरेको छ ।

वहसमा तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, तुलसीपुरमा क्रियाशील ९ वटा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, छिमेकी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रतिनिधिहरु, नागरिक अगुवा तथा सञ्चारकर्मीहरु सहभागी रहेका थिए । वहसपछि तुलसीपुरबासीको खानेपानीको मुहानलाई नै प्रत्यक्ष असर पार्नेगरी चुनढुंगा उत्खनन्का सम्पूर्ण प्रक्रिया रोक्न सम्बन्धित निकायमा दवाव दिने निर्णय भएको तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव सेवकराम भण्डारीले बताएका छन् ।

सर्वदलीय/सर्वपक्षीय छलफल कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति शुरेस हमालले पानीको मुहानमै चुनढुंगा उत्खनन्को प्रयास गर्ने व्यावसायीहरुलाई आफु नागरिक भएर एक पटक सोच्न चेतावनी दिए । साथै उनले यस्तो काममा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न व्यवसायी एवं सिफारीस दिने सरकारी निकायका कर्मचारीको समेत आइडिन्टिटी सार्वजनिक गर्न खानेपानीलाई आग्रह गरे ।

‘यस्तो काममा जोजो लाग्नुभएको छ, कृपया आफु नागरिक भएर सोंचिदिनुस् र यो अमानवीय व्यापारबाट अलग्गिनुस्’, हमालले चेतावनी दिए । साथै मुहान जोगाउनका लागि तत्काल चुनढुंगा उत्खननन्को सबै प्रक्रिया रोक्नका लागि नेपाली कांग्रेसले आवश्यकताअनुसारको जुनसुकै आन्दोलनमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । छलफल कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि तथा तुलसीपुर उपमहानगरपालिका—६का वडा सदस्य दुजमान भण्डारीले पानीको सिञ्चित गर्ने चुनढुंगा मुहानक्षेत्रमै उत्खनन् कुनै पनि अवस्थामा हुन नहुने भन्दै यसका विरुद्ध आन्दोलनमा उत्रन उपमहानगरपालिका एवं नेकपा एमाले तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टीका तुलसीपुर प्रमुख जीवन भण्डारीले उत्खनन्का सबै प्रक्रिया तत्काल रोक्न सम्बन्धित व्यवसायीलाई चेतावनी दिए । माओवादीका नगर कोषाध्यक्ष भिम चौधरीले समयमै उत्खनन्को स्वीकृति रोक्न नसक्दा बेलझुण्डी खानेपानीको मुहान संकटमा रहेको बताउंदै तुलसीपुर खानेपानीले समयमै यस्तो विषय उठान गरेकोमा धन्यवाद व्यक्त गर्दै आन्दोलनमा सहकार्य गर्ने बताए ।

तुलसीपुर खानेपानी तथा उपभोत्ता संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सदस्य पुस्कर रावतले बेलझुण्डी खानेपानीको मुहान क्षेत्रमा सोनापुर सिमेन्टले उत्खनन् थाल्दा ठुलो समस्या आइसकेको बताउंदै तुलसीपुर खानेपानी बेलैमा सचेत हुन आग्रह गरे । बेलझुण्डी खानेपानीको मुहान रहेको सुंगुरखोलाको मुहान रोल्पाको रण्टिगढी गाउँपालिका डुम्रिङमा चुनढुंगा उत्खनन् भैरहंदा बेलझुण्डी खानेपानीको मुहाननै पुरिने तथा सुक्ने सम्भावना बढिरहेको बताइन्छ ।

सर्वदलीय सर्वपक्षीय कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुरबासीलाई काकाकुल बनाउने गरी मुहान क्षेत्रमा चुनढुंगा उत्खनन्मा संलग्न व्यवसायीहरुलाई सार्वजनिक गर्न र तत्काल उत्खनन्का सबै प्रक्रिया रोक्न आग्रह गरे । कार्यक्रममा तुलसीपुर च्याम्वर अफ कमर्शका टोप वहादुर घर्तीले मुहान क्षेत्रमा उत्खनन् गरेर हेलचक्रयाइ गर्ने प्रयास तत्काल रोक्न आग्रह गरे । सो अवसरमा नेकपा विप्लवका रुद्र वहादुर वली, नेकपा क्रान्तिकारी, राजमो लगायतका पार्टिका नेताहरुले उत्खनन् रोक्ने आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रममा उत्खनन् क्षेत्र रहेको तुलसीपुर उपमहानगरपालिका—३ का वडाध्यक्ष वीरवहादुर विकले सो क्षेत्रमा चुनढुंगा उत्खनन्को सिफारीस प्रदान गर्नका लागि सरकारी कर्मचारीसहित भूगर्भ विभाग तथा व्यवसायीहरुले पटक पटक दवाव दिए पनि आफु यो विषयमा सचेत रहेको बताएका छन् । ‘वि.सं. २०७४ सालदेखिनै यस क्षेत्रमा उत्खननन्को स्वीकृतिका लागि थुप्रै प्रलोभन सहितका आग्रहहरु आएका छन्, तर नागरिकको जीवनमै खेलवाड गरी उत्खनन्को प्रयासलाई कहिल्यै स्वीकृति दिने छैनौं’, वडाध्यक्ष विकले भने । तुलसीपुर उपमहानगरपालिका—४ का वडाध्यक्ष वालकृष्ण राना ध्रुवले पनि आफु यो विषयमा अत्यन्तै गम्भीर रहेकाले कुनै पनि सर्तमा उत्खनन्को स्वीकृति नदिने प्रतिवद्धता जनाएका छन् ।

वि.सं. २०६९ भदौ १ गते अम्वास र राम्री क्षेत्रको करीव ९ किलोमिटर परिधिको क्षेत्रलाई आधार बनाएर चुनढुंगा उत्खनन्का लागि खानी तथा भुगर्भ विभाग काठमाडौंमा सुनगाभा माइनिङ प्रालि नामको फर्म दर्ता भएको बताइएको छ । फर्मको लाइसेन्स नम्बर १८/२०६९/०७० रहेको छ । सो फर्मले हालसम्म उत्खनन् गर्न यद्यपि सुरु गरेको छैन । सो फर्मको म्याद आगामि २०७९ साउन ३० मा समाप्त हुँदैछ । यसअघि नै फर्म नविकरणका लागि स्थानीय पालिकाबाट स्वीकृति तथा स्थानीयबासीका तर्फबाट मन्जुरीनामा लिने प्रयास फर्मका तर्फबाट द्रुत गतिमा भैरहेको खानी तथा भुगर्भ विभागका महानिर्देशकलाई उद्रित गर्दै तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले बताएका छन् ।

सो फर्ममा तुलसीपुर, घोराही, कपिलबस्तु तथा काठमाडौंका व्यवसायीहरु संलग्न रहेको पनि समाचार श्रोतले बताएको छ । यद्यपि उनीहरुको नाम भने श्रोतले बताएको छैन । स्थानीय पालिका जनप्रतिनिधिविहीन भएको अवस्थामा गाउँका सोझासाझालाई आर्थिक प्रलोभनमा पारेर मन्जुरीनामा गराइ तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीबाट पनि फर्म दर्तामा सहयोग पुगेको बताइएको छ ।

यसैबीच उत्खनन् रोक्नका लागि तुलसीपुरमा क्रियाशील सबै प्रमुख राजनीतिक दलको प्रतिवद्धता सहितको निर्णय तथा तुलसीपुर उपमहानगरपालिकाको समेत उत्खनन् रोक्नका लागि आग्रहसहितको सिफारीस लिएर तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको टोलि केही दिनमै काठमाडौंको खानी तथा भुगर्भ विभागमा डेलिगेशनमा जाने बताइएको छ ।

स्थानीय सरकारले स्वीकृति नदिएसम्म सो क्षेत्रमा चुनढुंगा उत्खनन् असम्भव हुने सरोकारवाला निकायका प्रतिनिधिले बताए । छलफल कार्यक्रमको सहजीकरण तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव सेवकराम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस