
घोराही । दाङमा लागु औषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट ७ किलो ७७९ ग्राम लागु औषध चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा रुकुम जिल्ला भुमे गाउँपालिका वडा नं. ९ चुनवाङ घर भई हाल घोराही उपमहानगरपालिका नयाँ वसपार्कमा बस्ने ५० वर्षीय दल बहादुर कामी र सोही वडाकै हाल घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी बस्ने ५९ वर्षीय कर्ण बहादुर पुन रहेका छन् ।
उनीहरुलाई आइतबार राती साढे ११ बजेको समयमा दल बहादुर कामीको कोठामा लुकाई छिपाई चरेस राखेको छ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले हरियो पोलिथिन भित्र लामो, चेप्टो आकारको पोका बनाएर राखेको अवस्थामा १६ थान बरामद गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।