लमही । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको भर्खरै सम्पन्न निर्वाचनबाट संयुक्त लोकतान्त्रिक प्यानल विजयी भएको छ । संस्थाको नेतृत्वका लागि भएको निर्वाचनमा सत्तागठबन्धनको समर्थनमा जंगबहादुर चौधरीको प्यानल निर्वाचित भएको निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए ।
संस्थाको अध्यक्ष पदका उमेदवार चौधरीले १५१८ मत प्राप्त गरी निर्वाचितभएका छन् भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्रगतिशील प्यानलका सनम कुमार पौडेलले १०४३ मत प्राप्त गरेको संयोजक पौडेलले बताए । सत्तागठबन्धनको प्यानललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको सर्मथन रहेको थियो भने पौडेल समुहलाई एमालेको समर्थन रहेको थियो ।
यस्तैगरी सत्तागठबन्धन प्यानलका उपाध्यक्ष उमेदवार सीतादेबी चौधरी १४२१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् भने उन प्रतिद्वन्द्वी पौडेल प्यानलका श्यामकला भुसालले ९३३ मत प्राप्त गरेका छन् ।
सचिवमा सत्तागठबन्धन प्यानलका बसन्त आचार्यले १२३३ मत प्राप्त गरी निर्वाचित भएका छन् भने दशरथ घिमिरेले ११७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा सत्तागठबन्धन प्यानलका बासुदेब गौतमले १३७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी देवमणी चौधरीले ९८५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
साथै सदस्यहरुमा सत्तागठबन्धन प्यानलका जगनारायण चौधरी १४२१, किरण चौधरी १४४२, ज्ञान बहादुर विक १४००, शिवा चौधरी १४०९ , सीता खत्री पोख्रेलले १४५८ मत प्राप्त गरी विजयी भएको समितिले बताएको छ ।
संस्थाको नेतृत्वका लागि सहमति हुन नसकेपछि शनिबार निर्वाचन भएको थियो । संस्थाको ४ हजार २ सय ७७ मतदाता रहेकोमा २ हजार ७ सय ९ जनाले मतदान गरेका थिए ।