वार्षिकोत्सवका अवसरमा दिदी घरलाई खाद्यान्न सहयोग

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आठौ वार्षिकोत्सवका अवसरमा दिदी घर संस्थालाई विभिन्न सामग्री सहयोग गरेको छ ।

संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा रहेको दिदी घरले सञ्चालनमा ल्याएको बालगृहमै पुगेर सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले दिदी घरलाई चामल, दाल, आलु, तेल, नमकिन, बिस्कुट, चिउरा, मसला, मास्क ,स्यानीटाइजर हस्तान्तरण गरेको हो । संस्थाका सल्लाहकार सुनिलकुमार पोखरेलको अध्यक्षता एवम् महिला अधिकारकर्मी सुष्मा गिरी लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका निर्देशक सुरेश भुसालले दिदी घरका अध्यक्ष स्यानी चौधरीलाई सामग्री हस्तान्तरण गरेका हुन् । बाल संरक्षण केन्द्रमा चारदेखि १२ वर्ष उमेरका २३ जना बालबालिकाहरु रहेका छन् ।

संस्थाले हालसम्म एक हजार बढीको उपचारपछि घरपरिवारमा पुनः स्थापना गराएको छ भने ६० जना आर्थिकरुपमा विपन्न समुदायका लागु पदार्थ दुर्व्यसनीहरुलाई निशुल्करुपमा उपचार गरेको छ ।

कार्यक्रममा यातायात व्यवसायी सुमन पोखरेल, दिदी घरकी अध्यक्ष स्यानी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गरेका थिए ।

संस्थाले वार्षिकोत्सवका अवसरमा विगतमा समेत बालबालिका, जेष्ठ नागरिकहरुलाई विभिन्न सामग्री वितरण गर्दै आएको छ भने लागु पदार्थ दुर्व्यसनी सम्बन्धी अभिभावक शिक्षा, सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

त्यसैगरी संस्थामै लागुपदार्थ दुर्व्यसनीका बारेमा निशूल्करुपमा मल्टीड्रगर्स परीक्षण गर्दै आएको छ । केन्द्रमा सीप सिकाएर आत्मनिर्भर बन्न चाहनेहरुका लागि निशुल्करुपमा तालिम र आवश्यक सामग्री समेत उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस