तुलसीपुर । पटक–पटकको बर्षाका कारण दाङमा करोडौंको इट्टामा क्षति भएको छ । दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीकाअनुसार यसअघि असोजमा भएको बेमौसमी बर्षाद र त्यसयता बिभिन्न समयमा भएका बर्षादले गर्दा ३ करोड बराबरको इट्टामा क्षति भएको हो ।
‘समय–समयमा बर्षा भइरहेको छ, यो बर्षाले हाम्रो इट्टामा निकै क्षति पुर्यायो’ ,उनले भने ‘अहिलेसम्म करिब ३ करोड क्षति भइसकेको छ ।’ पकाउनका लागि तयारी अवस्थामा राखिएका इट्टा बर्षाले भिजाउँदा नष्ट हुने गरेको उनको भनाई छ ।
जसका कारण यो बर्ष जिल्लामा इट्टाको अभाब हुन सक्ने उनको भनाई छ । जिल्लामा हाल ३५ वटा इट्टा उद्योग छन् । यसबर्ष घाटा हुने देखिएपछि इट्टा उद्योग बन्द हुने अवस्था आएको समेत उनको भनाई छ ।
यसअघि मात्रै जिल्लामा इट्टामा पानीले क्षति गरेपछि मूल्य बृद्धि समेत गरिएको थियो । १ नम्बर इट्टाको प्रति मूल्य रु.१६, २ नम्बर इट्टाको प्रति रु.१२ र ३ नम्बर इट्टाको प्रति रु.१० तोकिएको थियो ।
प्रत्येक ईट्टामा रु. १ बृद्धि गरिएको छ । राज्यले बीमाको ब्यबस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए ।