भ्रम नबाँडौ, कोही छैनन् चारलेनका ठेकेदार

बिजौरी । बहुप्रतिक्षित चारलेन सडक परियोजना बेवारिसे भैरहँदा नेपाल सरकारको परियोजना कार्यालयले अहिलेसम्म फिल्डमा खटिएको भनिएको कोही पनि आधिकारिक ठेकेदार नभएको बताएको छ । परियोजनाको कार्यालय लमहीका डिभिजन प्रमुख अर्जन वमले नागरिक दवाव नपुगेकै कारण चारलेन परियोजनामा चरम लापर्वाहीको शृङ्खला जारी रहेको बताएका छन् ।

कहिले अनुप पाण्डे, कहिले दोर्ण दुलाल त कहिले रामशरण खड्कालाई चारलेनको स्थानीय ठेकेदारकारुपमा कहिँकसैले प्रस्तुत गरे पनि उनीहरु सबै कमिसनको गोलचक्करमा प्रस्तुत गरिएका पात्रहरुमात्रै भएको परियोजना प्रमुख वमले बताएका छन् । ‘घेराही—तुलसीपुर चारलेन सडकको आधिकारिक निर्माण कम्पनी भारतको मुम्बइ स्थित तथ्य इन्जिनियरिङ मात्रै हो, अरु पात्रहरु त मुख्य ठेकेदार काठमाडौं आएका बेला मलाई पनि काम देउ भनेर चाकडिमा रमाउने व्यक्तिहरु मात्रै हुन, तपाईले भनेअनुसारका कुनै पनि व्यक्ति यस परियोजनाका ठेकेदार होइनन्’—परियोजना प्रमुख वमले भने ।

परियोजना कार्यालयका प्रमुख वमकाअनुसार यहाँको चारलेन सडक परियोजना सुस्त हुनुमा सबैभन्दा बढी दोष यहिँकै नागरिकहरुलाई दिए । ‘यहाँको नागरिक स्तरबाट वा राजनीतिक वृत्तबाट कुनै पनि प्रेसर क्रियट हुन सकेन चारलेन चाडो सम्पन्न गराउने सवालमा, त्यसैले अहिले चारलेन सडक स्तरोन्नतिको काम अर्थपूर्णरुपमा सुरु हुनै सकेको छैन’, परियोजना प्रमुख वमले भने, तथ्यले यहाँ रमिता देखाइरहेको छ, राजनीतिक जोडबलमा परियोजनाको म्याद थप भैरहेको छ । आफु भर्खरै यो परियोजनामा सरुवा भएर आएको बताउँदै उनले अब एक साताभित्रै यसको अन्तिम छिनोफानो हुने पनि बताए ।

‘घेराही—तुलसीपुर चारलेन सडकको आधिकारिक निर्माण कम्पनी भारतको मुम्बइ स्थित तथ्य इन्जिनियरिङ मात्रै हो, अरु पात्रहरु त मुख्य ठेकेदार काठमाडौं आएका बेला मलाई पनि काम देउ भनेर चाकडिमा रमाउने व्यक्तिहरु मात्रै हुन, तपाईले भनेअनुसारका कुनै पनि व्यक्ति यस परियोजनाका ठेकेदार होइनन्’

तथ्यका पदाधिकारीसँग भर्चुअल मिटिङ भैरहे पनि अब यसले नपुग्ने भन्दै आउँदो आइतबारसम्म कम्पनीका प्रतिनिधिलाई दाङ आउन भनेको पनि परियोजना प्रमुख वमले भने । उनकै उपस्थितिमा अब परियोजना अघि बढाउने कि अर्को ठेक्का हुने भन्ने अन्तिम छिनोफानो हुने पनि उनको भनाइ थियो । मुख्य ठेकेदार आफु काममै नआएर कमिसनको चक्करमा रहने र कमिसनकै चक्करमा अन्य निर्माण व्यवसायीहरु पनि मुख्य ठेकेदारकाबीच झुम्मिने प्रवृत्तिका कारण यो परियोजनामा नगन्य काम भएको बताइएको छ । अनुप पाण्डे, दोर्ण दुलाल तथा रामशरण खड्का लगायतका व्यक्तिहरु खासमा आधिकारिक प्रतिनिधि कोही पनि नभएको उनले बताए । यहाँ वर्षभरीमा एक महिना यसो सडक कोतारेजस्तो गरेर चारलेनको काम भैरहेको भनेर जनतालाई झुक्याउने काम भैरहेको पनि उनको भनाइ थियो ।

यस क्षेत्रकै गौरवको योजनाकारुपमा रहेको चारलेन सडक परियोजना अन्तर्गत घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्मको सडकलाई चारलेनमा स्तरवृद्धि गर्न ठेक्का आह्वान भएको थियो । ठेक्का सम्झौताको अन्तिम मितिसम्म पनि काम नसकिएको कारण सरकारले दुई पटक ठेक्काको म्याद थप गरिसकेको छ । परियोजनाले कारवाहिको प्रक्रिया अघि बढाउनुको साटो राजनीतिक संरक्षणका कारण कुनै पनि आधार स्पष्ट नहुँदा पनि कोभिडको वाहनामा पटक पटक परियोजनाको म्याद थप गर्ने र कमिसनको गोलचक्कर बढाइरहने गरिएको बताइएको छ । ‘निर्माण कम्पनीलाई म्याद थप गर्नुको कुनै पनि औचित्य पुष्टि हुन सक्दैन, अझै पनि म्याद थप गरिरहनु विकास निर्माणका लागि घातक हो’—परियोजनाका एक अधिकारीले भने । तथ्य इन्जिनियरिङसँग यहाँका उच्च अहोदाका जनप्रतिनिधि जोडिएकै कारण परियोजनाको पटक पटक म्याद थप भएको हो ।

सुरुआती चरणमा तथ्य इन्जिनियरीङलाई निश्चित कमिसन दिने सर्तमा यहीँकै स्थानीयबासी तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेले सडक स्तरोन्नतिको कामको जिम्मा लिएका थिए । पाण्डेले कामको जिम्मा लिएसँगै विभिन्न खण्डखण्डमा काम लगाएका अन्य सबै ठेक्काका व्यक्ति तथा पाण्डेलाई गाडिघोडा र इन्धन उपलव्ध गराउनेहरुले भुक्तानी नपाएपछि अनुप पाण्डे विरुद्ध प्रहरी प्रशासनमा कम्तिमा ४ करोड बढिको ठगी मुद्धा समेत दर्ता गराएका छन् ।

‘निर्माण कम्पनीलाई म्याद थप गर्नुको कुनै पनि औचित्य पुष्टि हुन सक्दैन, अझै पनि म्याद थप गरिरहनु विकास निर्माणका लागि घातक हो’

अनुमानित सवा अर्ब रुपैयाको बजेट रहेको चारलेन सडक निर्माणको सम्झौता सन २०१९ जुलाइमा भएअनुसार काम २०२१ मे महिनासम्म सम्पन्न गरिसक्नुपर्ने थियो । तर पेटि ठेक्का लिनेले निर्माण कम्पनी तथ्यसँग फेरी म्याद थप गर्न आग्रह गर्यो । राजनीतिक संरक्षणमा परियोजनाको म्याद थप गरियो । थपिएकाअनुसार पनि यहाँ करिव २८ किमि सडक चारलेनमा स्तरवृद्धि गर्ने काम सन २०२२ मे महिनाको अन्तसम्म छ । यो समय आउन बढीमा चार महिना मात्रै बाँकी रहँदा पनि काम सुरु हुन सकेको छैन । निर्माण कम्पनीको आधिकारिक स्थानीय प्रतिनिधि भनिएका अनुप पाण्डे सम्पर्क विहीन भएको उजुरी दिनेहरुले बताएका छन् । तर काम अझै सुरु भएको छैन ।

सडकको स्तरोन्नतिमा ढिलासुस्ती भएको गुनासोसँगै प्रमुख जिल्ला अधिकारीले पटक पटक नयाँ व्यक्तिहरुलाई तथ्य इन्जिनियरिङका स्थानीय ठेकेदारकारुपमा प्रस्तुत गर्दै आएका छन् । तर खासमा उनीहरु कोही पनि आधिकारिक ठेकेदार नभएको परियोजना कार्यालयले बताएपछि चारलेन सडक स्तरोन्नतिको काम अझै जटिल र लथालिंग बनेको छ । सडक स्तरोन्नतिमा ढिलासुस्ती भएको भन्दै अहिलेसम्म एक पटक पनि नागरिक दवाव सृजना हुने गरी कुनै पनि कार्यक्रम जिल्लामा हुन सकेका छैनन् । यहि कारण अहिले परियोजनाको जम्मा ६ प्रतिशत काम मात्रै पुरा भएको बताइएको छ ।
साक्षी खबरबाट

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस