हेटौंडा उपमहानगरले गर्‍यो पत्रकार महासंघलाई ५ लाख सहयोग, १६४ पत्रकारको दुर्घटना बीमा

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष नै स्थापना गरेको छ ।

गत वर्षदेखि सञ्चालनमा ल्याएको कोषमा यसअघि पनि उपमहानगरले १० लाख रुपैयाँ सहयोग गरेको थियो । गत वर्षदेखि महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

हाल नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका पूर्व अध्यक्ष समेत रहेका नवराज शर्माले गत वर्षदेखि पेन्सन पाइरहेका छन् ।

महासंघ मकवानपुर शाखाले साधारण सभाबाट पेन्सन कोष सम्बन्धी कार्यविधि समेत पारित गरिसकेको छ ।

यसैगरी, उपमहानगरले मकवानपुर जिल्लाका १६४ जना पत्रकारको ५ लाख रुपैयाँका दरले दुर्घटना बीमा गरेको छ । बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम १ लाख २२ हजार २७० रुपैयाँ महासंघ शाखा मकवानपुरलाई चेक हस्तान्तरण गरिएको मेयर हरिबहादुर महतले बताए ।

गत वर्षदेखि उपमहानगरले मकवानपुरका पत्रकारका लागि दुर्घटना बीमा गर्न शुरू गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस