काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ ।
उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार सोमबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री र अधिकतम तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस रहेको थियो ।
त्यस्तै आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.७ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।