
घोराही । दाङको घोराही कारागारबाट फरार रहेका कैदीलाई भारतीय नाकाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरि नेपाल–भारत सीमा नाका जमुनाहाबाट फरार कैदीलाई पक्राउ गरिएको जानकारी दिएको हो । कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला तोकिएर ७ बर्ष कैद भुक्तान गरिसकेका राजपुर गाउँपालिका वडा नं. ३ करंगा निवासी २९ बर्षीय यमराज परियार कारागारबाट गएको पुस ८ गते फरार रहेका थिए ।
विहान ११ बजेतिर छालाको समस्या भएको भनि कारागारबाट निस्केका उनी सोही दिन प्रहरीकै मोटरसाइकल लिएर फरार थिए । मोटरसाईकल भेटिएपनि उनी भेटिएका थिएनन् । त्यसपछि छानविन तथा खोजतलास समिति र ‘अपरेशन एनकी’ बनाएर अनुसन्धान गर्दा सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा नाकाबाट पक्राउ गरिएको हो । उनी भागेर भारत जाने क्रममा भारतीय प्रहरी समेतको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

काफ्लेका अनुसार फरार कैदी परियारले काराकार भित्रकै धेरै ब्यक्तीलाई प्रलोभनमा पारेको समेत खुलासा भएको बताए । ‘उनी कारागार भित्र कैदीका चौकीदार पनि भएका थिए, चौकीदार भएपछि त्यसको दुरुपयोग गर्दै उनले केही ब्यक्तीलाई आर्थिक प्रलोभन पार्न सफल भएको खुलेको छ’, प्रहरी प्रमुख काफ्लेले भने ‘यसमा थप अनुसन्धान भइरहेको छ ।’
कैदी परियारलाई उपचारका लागि लैजान खटिएका प्रहरी जवान धनबहादुर चौधरीसहित उनीहरु अस्पताल नगएर सिधै होटेलमा गएका थिए । होटेलमा केटीहरुको प्रयोग गरेर उनी भाग्न सफल भएका थिए । प्रहरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिएर उनी फरार थिए । त्यसको भोलिपल्ट मोटरसाईकल लमहीको मुसोटस्थित जंगलम भेटिएको थियो । दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा खटिएको टोलीसहित तालुक प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र भारतीय प्रहरी समकक्षीहरुको समन्वयमा खोजतलासबाट उनलाई पक्राउ गर्न सफल भएको उनको भनाई छ ।
प्रहरीका अनुसार कैदी फरार रहेपछि धेरै समय जंगलमा लुकेको खुलेको छ । उनलाई पक्राउ गरि अहिले थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साथै कैदी भगाउन भूमिका खेलेको भन्दै प्रहरी जवान धनबहादुर चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य भने पुर्पक्षका लागि धरौटीमा छुटेका छन् । कैदी भगाउन सहयोग गरेको भन्दै ७ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो । कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैद म्याद ठेकिएको कैदी भागेमा पक्राउ परेपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था रहेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार कैदी पक्राउ गर्न सफल भएको भन्दै यो कार्य ऐतिहासिक भएको बताए ।