
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ ।
शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
शर्माका अनुसार अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने निर्णय गरिएको छ । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।
कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताए ।
यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।
त्यसैगरी बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।
संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष शर्माले बताए ।
बोर्डले अब संघीय शिक्षा ऐन पनि त्यही अनुरुप बन्नुपर्छ भनेर काम गरिरहेको समेत शर्माले जानकारी दिए ।