बेलगाम छन् तुलसीपुरका एम्बुलेन्सहरु

बिजौरी । एक महिना अघि तुलसीपुरमा मानव अधिकार समूह तथा इन्सेकले आयोजना गरेको खाद्य सुरक्षा, स्वास्थ्य तथा शिक्षामा नागरिक पहुँच विषयक अन्तरक्रियामा सहभागीहरुले तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारी स्वास्थ्य चौकीलाई उपलव्ध गराइएको एम्बुलेन्स बिरामी छाड्नकै लागि मात्र फुलबारी पुग्ने गुनासो सहभागीहरुले गरे । फुलबारीका स्थानीयबासी बिरामी परेको समयमा वडाबासीले कहिल्यै पनि आफ्नो स्वास्थ्य चौकीका नाममा आएको एम्बुलेन्स सेवा पाउन सकेनन् । बिरामी ओसार्ने एम्बुलेन्स भनेको गाउँका अटोनै भएका छन् ।

गएको पुस २९ गते तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौर तोप्पापानीस्थित स्वास्थ्य चौकीमा एम्बुलेन्स थिएन । महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भिड स्वास्थ्य चौकीमा मासिक प्रतिवेदन बुझाउन केन्द्रित थियो । यहाँको एम्बुलेन्स अचेल यहाँ आउँदैन ? पत्रकारको जिज्ञासामा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुले एक स्वरमा भनिरहेका थिए, ‘यहाँ त सुरुआति दुई चार दिन हामीले एम्बुलेन्स देखेका थियौं, तर अचेल करिब एक वर्षदेखि चौकी आसपासमा एम्बुलेन्स देखिएको छैन । पत्रकारहरुले स्वास्थ्य चौकीबाटै एम्बुलेन्स चालकलाई फोन गरे । एम्बुलेन्स चालकको जवाफ थियो, एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको छ । एम्बुलेन्स ग्यारेजमा थन्किएको विषयमा न तोप्पापानी स्वास्थ्य चौकीलाई आधिकारिक जानकारी छ, न त तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखालाई नै । एम्बुलेन्सको अभावमा कैंयौ बिरामीहरुले अटोमा बिरामी अस्पताल पुर्याए, कतिले निजी सवारीसाधन झिकाएर चर्को शुल्कमा अस्पताल पुर्याए ।

‘मेयर सापले उद्घाटन गरेको दिन एम्बुलेन्स देखेका थियौं तप्पापानी चौकीमा, तर त्यसपछि यहाँ एम्बुलेन्स कहिल्यै देखेनौ’– एक जना स्थानीय महिलाले गुनासो पोखिन्, यहाँ एम्बुलेन्स ल्याएको त सस्तो लोकप्रियताका लागि मात्रै थियो, हामीहरुलाई सहज स्वास्थ्य सेवाका लागि थिएन । चालकलाई सोध्यो धेरैजसो फोन नै उठ्दैन । उठिहाले पनि एम्बुलेन्स बाहिर गएको छ भन्ने जवाफ आउँछ, कहिले बिग्रिएको भन्ने । एम्बुलेन्स कहाँ छ भन्ने स्वास्थ्य चौकीलाई पनि कहिल्यै औपचारिक जानकारी भएन ।

‘एम्बुलेन्स कहाँ छ भन्ने हामीलाई पनि जानकारी छैन, बिजौरीतिर हुन्छ रे भन्ने सुनेको छु’, स्वास्थ्य चौकीका इञ्चार्ज यज्ञ केसीले भने । एम्बुलेन्स स्वास्थ्य चौकीकै निगरानीमा रहने र यहाँका स्थानीयबासीहरुलाई स्वास्थ्य उपचार सेवाका लागि ल्याएको भए पनि सञ्चालन विधिमै समस्या हुँदा एम्बुलेन्स नियमितरुपमा चौकीमा उपस्थित हुन नसकेको पनि इञ्चार्ज केसीको भनाइ थियो । ‘एक दुई पटक मात्रै मैले यहाँ एम्बुलेन्स देखेको हो, उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाले कहाँ प्रयोग गरिरहन्छ भन्ने जानकारी नै छैन’, स्वास्थ्य चौकी प्रमुख केसीको भनाइ थियो ।

‘मेयर सापले उद्घाटन गरेको दिन एम्बुलेन्स देखेका थियौं तप्पापानी चौकीमा, तर त्यसपछि यहाँ एम्बुलेन्स कहिल्यै देखेनौ’

तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले आर्थिक वर्ष २०७४/७५ सालमा ८ वटा एम्बुलेन्स खरीद गरी दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले यति धेरै एम्बुलेन्सलाई राजश्व छुटको सिफारिस गरेन । उपमहानगरपालिकाले त्यो पटक ३ वटा मात्रै एम्बुलेन्स खरीद गर्यो । ती एम्बुलेन्सहरु तुलसीपुर उपमहानगरपालिका–२ पवननगर स्वास्थ्य चौकी, तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारी स्वास्थ्य चौकी र तुलसीपुर उपमहानगरपालिका–१९ तोप्पापानी स्वास्थ्य चौकीलाई उपलव्ध गराइयो ।

एम्बुलेन्स सञ्चालनको समन्वय स्वास्थ्य चौकीले गर्ने निर्णय पनि उपमहानगरपालिकाले गर्यो । तर एम्बुलेन्सहरु स्वास्थ्य चौकीको निगरानी र नियन्त्रणमा छैनन् । चालककै तजवीजमा कहिले नेपालगञ्ज त कहिले बुटवल काठमाडौंका लागि क्युमा लागिरहेका हुन्छन् एम्बुलेन्सहरु तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा । अहिले पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दिनभर जसो तुलसीपुर उपमहानगरपालिकाका एम्बुलेन्सहरु बिरामीलाई जिल्ला बाहिर लैजाने क्युमा बसिरहेका हुन्छन् । बेलगाम छन् उपमहानगरपालिकाका एम्बुलेन्सहरु ।

त्यसपछि राजश्व छुट नभए पनि उपमहानगरपालिकाले थप ५ वटा एम्बुलेन्स खरीद गर्यो, स्वास्थ्य चौकीकै नाममा । ती एम्बुलेन्सको कार्य क्षेत्र तोकियो । एउटालाई तुलसीपुर मेट्रो हस्पिटल, डुरुवा, मानपुर र तुलसीपुर–११ को स्वास्थ्य चौकी । तर ती कार्य क्षेत्र तोकिएका एम्बुलेन्सहरुको पनि कार्य क्षेत्र तुलसीपुर प्रादेशिक अस्पताल–नेपालगञ्जनै रहिआएको छ । गाउँबासीहरुले उपमहानगरपालिकाले राजश्व छुटमा खरीद गरेका एम्बुलेन्स सेवा कहिल्यै पाएनन् । उनीहरुले सुत्केरी व्यथाले च्यापेका गर्भवतीलाई तीनपांग्रे अटोमै अस्पताल पुर्याउन विवश छन् ।

‘एक दुई पटक मात्रै मैले यहाँ एम्बुलेन्स देखेको हो, उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाले कहाँ प्रयोग गरिरहन्छ भन्ने जानकारी नै छैन’

स्थानीयबासीको रोदन उपमहानगरपालिकाको वोर्डले सुन्न तयार छैन । किनकि स्वास्थ्य चौकीको एम्बुलेन्स दिनभर उपमहानगरपालिकाकै गेटमा रोकिइरहेका छन् । उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरुलाई त्यसको कुनै हेक्का छैन सायद ।

स्थानीयका गुनासा मनासिव छन्ः स्वास्थ्य प्रमुख

एम्बुलेन्स सेवाकै विषयमा पत्रकारको जिज्ञासामा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओम प्रकाश न्यौपानेले स्थानीयबासीका गुनासा मनासिव रहेको बताए । उपमहानगरपालिकाले एम्बुलेन्स चालकहरुका लागि मासिक तलव व्यवस्थापननै गर्न नसकेका कारण यो समस्या भएको स्वास्थ्य प्रमुख न्यौपानेले बताए । ‘हामीले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाउदै छौं, त्यसपछि सबै एम्बुलेन्सहरुलाई सम्बन्धित स्वास्थ्य चौकीमा फिर्ता पठाइने छ’, न्यौपानेले भने । कार्यविधिकै अभावमा चालकले आफ्नो रोजीरोटीका लागि एम्बुलेन्स बजार केन्द्रित गरेको हुन सक्ने उनको अभिव्यक्ति थियो ।

तुलसीपुर उपमहानगरपालिकाका एम्बुलेन्सहरु लामो दुरीको क्यु खानकै लागि प्रादेशिक अस्पताल तुलसीपुर आसपासमै झुम्मिने गरेको पनि न्यौपानेको अभिव्यक्ति थियो । कोरोना भाइरसको संक्रमण व्यापक भएको अवस्थामा उपमहानगरपालिकाले सबै स्वास्थ्य चौकीका एम्बुलेन्सहरु शव वाहनकारुपमा प्रयोग गर्न उपमहानगरपालिकामा तानेको भए पनि पछिल्लो समयमा भने एम्बुलेन्सहरु सम्बन्धित स्वास्थ्य चौकीमा पठाइएको बताएका छन् । तर उपमहानगरपालिकाले फिर्ता पठाएको भनिएका ती एम्बुलेन्सहरु कता हराएका छन्, नागरिकहरु मात्र होइन, सम्बन्धित स्वास्थ्य चौकीका इञ्चार्जहरु पनि बेखबर छन् ।

साक्षी खबरबाट

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस