भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकै दिन दुई लाख ८२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा १८.९ प्रतिशतले बढी हो ।

पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्यासमेत बढिरहेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ३१ हजार पुगेको छ । दैनिक संक्रमण दर समेत बढेर १५।१३ प्रतिशत पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित मंगलबारको तुलनामा ०.७९ प्रतिशतले बढेर ८ हजार ९६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस