स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको जानकारी दिए ।

यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

तर, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बैठकमा उपस्थित नभएको स्थानीय तहको चुनावको मितिबारे निर्णय नभएको मा‌ओवादी नेता देवप्रसाद गुरुङले बताए ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस