
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइने भएको छ ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए ।
उनले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने थालेको बताए । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ ।
कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । हिजो मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो ।
यस्तै, मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपङ्क्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ ।
स्वास्थ्य सचिव डा. पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टीजेन परीक्षण बढाइएको समेत बताए ।