कोरोना संक्रमण बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गतेसम्म बन्द

तुलसीपुर । तुलसीपुरका तीन सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरूमा कोरोना संक्रमण बढेपछि तुलसीपुरका विद्यालयहरू माघ ३ गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बसेको बैठकले अश्वारा माध्यामिक विद्यालय, गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौर र मावि सेन्टर तुलसीपुर स्कुल बन्द भइसकेका छन् भने अन्य विद्यालयहरु माघ ३ गतेसम्मका लागि पूर्णरुपमा पठनपाठन बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

गएको बुधबार र विहीबार उक्त विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि पुस २५ गते आइतबारदेखि तुलसीपुरका सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन बन्द गरिएको उनले जानकारी दिए ।

तुलसीपुरमा ५ दिनको अवधिमा ८४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

कोरोना संक्रमण दर फैलिएपछि बैठक शिक्षा समितिको संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको हो । सो अवसरमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, बातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् ।

प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस