
तुलसीपुर । तुलसीपुरमा विद्यालयका शिक्षक र विद्यार्थीसहित विहीबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार कोरोना संक्रमण हुनेमा तुलसीपुरको मावि सेन्टरका बिद्यार्थी शिक्षक र कार्यालय सहयोगी गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
त्यसैगरी तुलसीपुरको गुरुजजुर मावि रक्षाचौरका ११ जना, जनता सस्कृत मावि बिजौरीका १ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ७ जना स्वास्थ्यकर्मी र अन्य ११ जना गरी बिहीबार मात्रै ४५ जनामा कोरोना संक्रमण भएको केसीले बताए ।
यसअघि तुलसीपुरका आश्वरा मावि, राप्ती बाल एकाडेमीका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तुलसीपुर क्षेत्रमा चार÷पाँच दिनको अवधीमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये २ जना अस्पतालमा र अन्य सबै होम अईशोलेसनमा रहेको केसीले जानकारी दिए । संक्रमितहरुमा नाक बन्द हुने, खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षिण देखिएको उनले बताए ।
त्यस्तै बिहीबार परीक्षण गरेको नमुना ओमिक्रोन हो होइन भनी २० जनाको नमूना नेपालगञ्ज पठाइएको पनि केसीले जानकारी दिए ।