स्थायी राजधानी बनाउन गुरुयोजनाको खाका तयार

दाङ । लुम्बिनी प्रदेशको दाङमा स्थायी राजधानी बनाउन गुरुयोजनाको खाका तयार भएको छ । प्रदेश राजधानी स्थापनाका लागि संघीय सरकारको अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ दिने निश्चित भएको र अब कामको गति तीब्ररुपले बढ्ने मुख्यमन्त्रीय कुलप्रसाद केसीले बताए ।

राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर बनाइएको गुरुयोजनाले प्रारम्भिकरुपमा राप्ती गाउँपालिकाका तीन वटा वडा, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई–दुई वटा वडा समेटेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

राजधानीको प्रशासनिक क्षेत्र बुद्धको प्रतिमा आकारमा रहने गरी डिजाइन गरिएको र सरोकारवालासँग शुक्रबार विस्तृत छलफल गरी अन्तिम रुप दिने तयारी गरिएको प्राधिकरणका सीईओ अनन्तराज घिमिरेले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत भालुबाङ–लमही खण्डको ५ सय मिटर बाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रालयहरु र भीआईपीको अवास रहने क्षेत्र गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

यस्तै गढवा गाउँपालिकाको क्षेत्रलाई आवासीय, कृषि र केही संस्थागत क्षेत्र पनि गराउन सकिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । गढवाको कालाकाटे र शितगंगा नगरपालिकाका क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गुरुयोजनामा गरिएको छ । राजधानी शहरको बाहिरी घेरामा रिङ रोड रहनेछ । त्यसले उत्तर र दक्षिण तर्फका पहाडलाई प्रशासनिक केन्द्रसँग जोड्ने छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ क्षेत्रमा पूर्वाधार निर्माणका लागि तत्काल संघीय सरकारले एक अर्ब रुपैयाँ दिने भएको छ । संघीय अर्थ मन्त्रालयले प्रदेश सरकारलाई चालु आर्थिक वर्षमा विशेष अनुदान अन्तर्गत एक अर्ब रुपैयाँ दिने सुनिश्चित गरेको लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस