शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द

तुलसीपुर। तुलसीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पठनपाठन बन्द गरिएको छ ।

एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुको मेट्रो अस्पताल आश्वारामा एन्टिजेन परीक्षण गरिएको थियो ।

मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । भण्डारीकाअनुसार शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ ।

संक्रमित शिक्षक र विद्यार्थीको अवस्था सामान्य छ । उनीहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताए ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस