गन्यारी कृषि सहकारीको १२ औं साधारणसभा सम्पन्न

बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको गन्यारी कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वलीले महिलाहरु बचत गर्ने मात्र नभई उत्पादनशील उद्यमी बन्न आग्रह गरे । आफ्नो आर्थिक अवस्था बलियो बनाए श्रीमानले पैसा माग्दा पनि दिन सकियो भने मात्र महिलाहरुको सम्मान हुने उल्लेख गरे । ‘यो सहकारी अगाडी बढ्न खोजिरहेको छ बाटो देखाउने माध्यम पाएको छैन ।’ वलीले भने ‘म सधैं यस्तै हुन्छु भनेर नसोच्नुस् केही गर्ने कमाउने बेला यही भने जोस् जाँगरका साथ लाग्नुस् ।’

त्यस्तै सहकारी संस्थाको लागि भवन निर्माण गर्नको लागि बजेट उपलब्ध गराउन मेयरसँग छलफल गर्ने वलीले बताए । साथै उनले तुलसीपुर कृषि शाखा कार्यालयबाट उपलब्ध भएको मिनी टेक्टरलाई प्रयोग गरी आम्दानीको स्रोत बढाउन आग्रह गरे ।

संस्थाकी सदस्य कृष्णी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको संस्थाको १२ औं साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रममा संस्थाकी सचिव सम्झना चौधरीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष उर्मिला चौधरीले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

सो साधारण सभा कार्यक्रममा वार्षिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । जसमा शेयर सदस्य दुई सय बृद्धि गर्ने, सिपमूलक तालिमको लागि पहल गर्ने, नियमित बचतकर्ताको वृद्धि गर्नेलगायतका कार्यक्रमहरु रहेका छन् । संस्थामा हाल जम्मा ४ सय २६ जना सदस्यहरु रहेका छन् ।

कार्यक्रममा ओजरार कृषि सहकारी संस्थाकी अध्यक्ष कमला चौधरी, तुलसीपुर कृषि शाखाका रकबहादुर बबाल, डगर कृषि सहकारी संस्थाकी विष्णु चौधरी, सहयोग समाज नेपालकी सरस्वती जिसी, मुक्त कम्लहरी विकास मञ्चकी मञ्जिता चौधरी, तुलसीपुर कृषि शाखाका कुलराज चौधरी, मुक्त कम्लहरी विकास मञ्चका कार्यकारी निर्देशक फकला थारु, मुक्त कम्लहरी विकास मञ्च दाङ जिल्ला अध्यक्ष रमिता चौधरी, मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष शान्ति चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक सुशिला चौधरीले गरेकी थिइन्।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस