लुम्बिनीमा आगलागी हुँदा १२ वटा गिफ्ट तथा उपहार पसल जलेर नष्ट

बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा एक दर्जन गिफ्ट तथा उपहार पसल जलेर नष्ट भएका छन् ।

गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाले बताए ।

पसलमा रहेका माला, मूर्ति, ढाका, हस्तकला उपहारहरु लगायतका सामान जलेर नष्ट हुँदा करिब ७० लाख रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको बानियाले बताए ।

कवाड बटुल्ने व्यक्तिले जाडोमा आगो ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको उनले बताए । बोलाएको एक घण्टापछि मात्र दमकल आउँदा ठूलो क्षति भएको बानियाको भनाइ छ ।

त्यहाँ एक सय बढी उपहार पसल छन् । दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस