नेतृत्व जन्मायो, समृद्धि जमेन

बिजौरी । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको महाधिवेशन भईरहँदा बिजौरी स्थायी बसोबास भएका, यही जन्मिएका नेता शंकर पोख्रेल पार्टीको गरिमामय महासचिव पदमा निर्विरोध निर्वाचित भए । यसअघि उनै शंकर लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत भइसकेका छन् । पटक पटक क्याबिनेट मन्त्री समेत भएका पोख्रेलको एमालेमा पकड जम्दै गएको छ । एमालेकै उपाध्यक्षसम्मको जिम्मेवारी पाएका नेता युवराज ज्ञवाली पनि यहिकै राजनीतिक पृष्ठभुमिका नेता हुन् ।

नेपाली कांग्रेसका सभापतिका निकट मानिने डिल्ली बहादुर चौधरीको संघीय सरकारसँग मात्र होइन, प्रदेश सरकारमा पनि छ । उनी शंकर पोख्रेल मुख्यमन्त्री हुँदा चौधरी सार्वजनिक लेखा समितिको सभापति तथा प्रतिपक्षि दलको बलियो नेताका रुपमा चिनिन्थे । कांग्रेस केन्द्रीय सदस्य दिपक गिरी पनि कांग्रेस सरकारमा सहभागी हुँदा सिंचाइ मन्त्री बने । कांग्रेस अग्रज नेता शशांक कोइराला र स्वर्गीय सुशिल कोइरालासँग निकट मानिने गिरी पनि पार्टीमा बलिया केन्द्रीय सदस्यका रुपमा चिनिन्छन् ।

माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा दाङबाटै निर्वाचित भएका सांसद हुन् । उनी सांसद मात्र होइन, संघीय संसदका सभामुख समेत बने । पटक पटक मन्त्री समेत भैसेका महरा अहिले पनि पार्टीको प्रवक्ताका रुपमा बलियो पकड भएका नेता हुन् । नेकपा वैद्य समूहका नेता मोहन वैद्य पनि दाङमै जन्मिएका नेता हुन् ।

दशकौं अघिको राजनीति हेर्दा पञ्चायत कालमा राजसभा स्थायी समितिको सभापति समेत बनिसकेका परशुनारायण चौधरी पनि दाङको देउखुरीकै नेता हुन् । शिक्षामन्त्री समेतको जिम्मेवारी पाएका नेता चौधरीको स्थायी बसोबास देउखुरी थियो । पञ्चायत कालमै खिम बहादुर शाह र रण बहादुर शाह पनि केन्द्रीय राज्य सत्तासँग पकड राख्ने नेताका रुपमा चिनिन्छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिसँग पकड राख्ने नेता बलदेव मज्गैयादेखि स्वर्गीय नेता खुमबहादुर खड्कासम्मलाई दाङले जन्मायो ।

दशकौं अघिदेखि दाङ जिल्लाले नेता त जन्माइरहेको छ । यहिकै माटोमा जन्मेका, हुर्केबढेका र राजनीतिक संस्कार सिकेका धेरै व्यक्तित्वहरु कुनै न कुनै दलको केन्द्रीय सदस्यदेखि किचन क्याविनेटसम्म पुगेका छन् । तर नेता जन्मिएअनुसार यहाँको विकास निर्माण जम्न सकेको छैन । विकास निर्माणले गति नलिँदा जिल्लाबासीहरुले भने प्रतिफल पाउन सकेका छैनन् । यहाँको जनजिवनमा खासै भिन्नता देखिन सकेको छैन ।

दाङ जिल्लाको एक मात्र टरिगाउँ विमानस्थल वि.सं. २०१६ सालदेखि उस्तै साइजमा छ । जसोतसो ग्राभेल रनवे कालोपत्रे भए पनि यसको साइज बढ्न सकेको छैन । सात दशक अघिको जहाजको पृष्ठभूमिमा निर्माण भएको विमानस्थलको स्तरोन्नतिमा कुनै पनि नेताहरुको अर्थपूर्ण रुपमा ध्यान पुग्न सकेको छैन । अहिले सयौं दाङबासीले जहाजको यात्राका लागि नजिकैका भैरहवा विमानस्थल र नेपालगन्ज विमानस्थल पुग्नु परेको छ । ‘उतिबेला बरु हवाइ सेवा नियमित थियो, तर अचेल हवाइ सेवाप्रति ढुक्क हुने अवस्था रहेन’ तुलसीपुरका स्थानीयबासी शम्भु शाहले भने ।

दाङ जिल्लालाई छोटो दुरीमा सोझै कर्णालीसँग जोड्ने तुलसीपुर–पुरन्धारा–सुर्खेत सडक निर्माण सुरु भएको करीव डेढ दशक भयो । तर जम्मा ७९ किमि सडक पनि कालोपत्रे भएर सञ्चालनमा आउन सकेको छैन । निर्माणाधीन सडक पनि स्तरीयरुपमा निर्माण भैरहेको छैन । जुन सडकले कर्णालीलाई दाङ जोडेर पूर्वपश्चिम राजमार्ग पछ्याउँदा यात्रा निकै छोटो हुने तथा भारी मात्रामा इन्धन बचत हुने अवस्था हुन सक्थ्यो । तर यसमा अर्थपूर्ण योजना पार्ने हैसियत यहाँबाट संसद एवं सरकारमा प्रतिनिधित्व गर्ने नेताहरुले देखाउन सकेनन् । तुलसीपुरबासी पुराना नेता गोपिनाथ योगी भन्छन् ‘हाम्रा नेताहरुले यहाँका महत्वाकांक्षी योजनाहरुलाई पि वन (पहिलो प्राथमिकताका योजना) प्याकेजमा पार्न सकिरहनुभएको छैन । पिटुमा परेका योजनाहरुले अपेक्षित रुपमा बजेट नै पाउँदैनन् ।

इन्जिनियरिङ अध्ययन गर्नका लागि सरकारी तहको एउटा शैक्षिक संस्था यहाँ स्थापना हुन सकेन । मेडिकल अध्ययनका लागि स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बेवारीसे जस्तै भएको छ । स्थापनाको चार वर्ष बितिसक्दा पनि एउटै शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेको छैन । जसोतसो स्थापना भएको प्रतिष्ठान अहिले पनि भूस्वामित्वकै अभावमा पिरोलिएको छ । पर्याप्त बजेट तथा कार्यक्रम पार्न उच्च सरकारी निकायमा अर्थपूर्णरुपमा पहल हुन सकेको छैन ।

वि.सं. २०६० सालमा बस वा अन्य सवारीसाधनबाट घोराही–तुलसीपुरको यात्रा बढिमा ३० मिनेटको थियो । अहिले आएर यही दुरीमा यात्रा गर्न कम्तिमा सवा घण्टादेखि डेढ घण्टासम्म लाग्ने गरेको छ । बल्लतल्ल चारलेन योजनामा परे पनि ठेकेदारको लापर्वाहिका कारण दुई वर्षमा काम सक्ने सम्झौता भएको चारलेन योजनाको कार्यप्रगति समय सीमा सकिनै लाग्दा जम्मा ७ प्रतिशत पुगेको छ । निर्माण कम्पनीलाई कारवाहीको साटो हौसला दिइरहने प्रवृत्तिले यो सडक पनि कहिले बन्ने हो निश्चित छैन । चार महिनाको अवधिमा यही सडकमा १२ जनाले ज्यान गुमाइसक्दा पनि खबरदारीको अवस्था सुन्य छ । दाङबासीहरुको एउटै सुझाव छ, नेतृत्व लिन जति सफल भएका छौ, यहाँको समृद्धिमा पनि त्यत्तिकै अग्रसर बन ।

साक्षी खबरबाट

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस