
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन यहि मंसिर १५, १६ र १७ गते काठमाण्डौंको भृकुटी मण्डपमा हुने भएको छ । राप्रपाले एकता महाधिवेशनको तयारी पुरा गरिसकेको छ । महाधिवेशनमा भाग लिनका लागि देशभरबाट प्रतिनिधिहरू छनौट भइसकेका छन् । महाधिवेशनमा भाग लिनका लागि देशभरबाट राप्रपा कार्यकर्ताहरू काठमाण्डौंमा जाने क्रम चलिरहेको छ ।
दाङ जिल्लाले पनि एकता महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको टुङ्गो लगाईसकेको छ । दाङ जिल्लाबाट पदेन सहित ७४ जना प्रतिनिधिहरू छनौट भएको जानकारी निर्वाचन संयोजक अम्मरबहादुर वलीले गराएका छन् । राप्रपाले एकता महाधिवेशनबाट पहिलो पटक अध्यक्ष सहितका अरु पदाधिकारी निर्वाचनबाट चयन गर्ने भएको छ ।
बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिले सो निर्णय गरेको हो । राप्रपाको विधानअनुसार राप्रपाको केन्द्रीय समितिमा अध्यक्ष १, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १९९ केन्द्रीय सदस्यीय कार्यसमिति हुनेछ ।
जसमध्ये अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने पार्टीका प्रचार विभाग सदस्य गोपाल पौडेलले जानकारी दिए ।
त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिको ७५ प्रतिशत अर्थात १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात ४९ जना महिला रहनेछन् । बाँकी १०० जना पुरुष रहनेछन् । राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ ।
निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित ३ जना (२ पुरुष १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र २ जना (एक महिला एक पुरुष) मुस्लिम ३ जना (२ पुरुष एक महिला), थारु २ जना (एक पुरुष एक महिला) र प्रवासबाट २ जना निर्वाचित हुनेछन् ।