कर्णाली प्रदेशका दुई सय बढीलाई नयाँ दृष्टी


दाङ । सल्यान र रुकुम पश्चिमका दुई सय बढीलाई मोतियाविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टी प्रदान गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गरी २ सय १५ जनालाई मोतियाविन्दुको शल्यक्रिया गरि नयाँ दृष्टी प्रदान गरिएको हो ।

बनगाडमा ८७ जना र चौरजहारी नगरपालिकामा १२८ जनाको निशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेर २ सय १५ जनाले नयाँ दृष्टी प्राप्त गरेका हुन् ।

नेपाल नेत्र ज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग, ग्लोबल मेडिकल फ्वाउन्डेसन अस्ट्रेलिया र एनएबिपिआइ नर्वेको आर्थिक सहयोगमा स्थानीय तहले आयोजना गरेको निशुल्क आँखा शिबिरमा आँखा जाँच तथा मोतियाविन्दुको निशुल्क शल्यक्रिया गरिएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गत कार्तिक ८ र ९ गते र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्तिक ११ र १२ गते निशुल्क आँखा शिबिर संचालन गरिएको राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सालिकराम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौरजहारी नगरापलिकामा सञ्चालित निशुल्क आँखा शिविरमा २४३ जनाको अाँखा जाँच तथा १२८ मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ३ सय १६ जनाको आँखा जाँच तथा ८७ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । दुई ठाउँमा भएको शिबिरमा ५ सय ५९ जनाको निशुल्क आँखा जाँच गरिएको छ । डाक्टर सुलक्ष्मी कटुवालको नेतृत्वमा १४ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको हो ।

राप्ती आँखा अस्पतालको सेवा क्षेत्रभन्दा निकै टाढा रहेको क्षेत्रमा अस्पतालबाट प्रदान गरिने शल्यक्रिया सेवा पाउदा स्थानिय खुशि भएका छन् । उनीहरुले आयोजक तथा सहयोगीदातालाई विशेष धन्यवाद प्रदान गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस