बिहिबार सम्मका लागि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


दाङ-
लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख पूणर्बहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा आज बोलाइएको बैठक स्थगित गरिएको बताउनुभयो । अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ ।

यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाएपनि सूर्य चिन्हबाट चुनाव लडेका तर हाल सरकारमा सहभागी भएका दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।

नवलपरासी पश्चिमबाट सूर्य चिन्हबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य अजयबहादुर शाही र दाङको उपनिर्वाचनमा नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री ओलीलाई एमालेले कारबाही गरेकाले पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै आएको छ ।

विरोधको कार्यक्रम अब चल्ने सदनमा पनि जारी रहने एमाले संसदीय दलका प्रमुख भूमिश्वर ढकालले बताउनुभयो । यसअघि असोज २० गते बसेको प्रदेशसभा बैठकले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै नया बजेट पेस गरेको थियो ।।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस