मौसम खुलेपछि खेतमा देखिएका आँखा रसाउने दृश्यहरु (फोटो फिचर)


दाङ
काटेको धान पुरै पानीमा डुवेको छ, तैपनि तुलसीपुर उपमहानगरपालिका—११ मोतीपुरका किसान जागुराम चौधरीले काटेर एकमेसो राखिएका धानको लिन फर्काउंदै छन् ।

उम्रिसकेका बाला र कुहिएको परालले उनको अनुहार मलिन बनाएको छ ।

‘पराल सम्म पनि बचेन, धानको त आशै थिएन’, डुवानमा परेको धान देखाउंदै जागुरामले भने ।

लगातार चार दिनको बेमौसमी झरीले मोतिपुरको करिब ६० विगाहा धानखेतको काटिसकेको धान सखाप बनाएको छ ।

विसं १९८० शाल सम्म मोतिपुरको नाम आखा फुटि थियो रे ।

फालाबांगि राजा त्यहां पुगेका बेला असाध्यै राम्रो धानखेती त्यहाँ देखेपछि ठाउको नामनै फेरीदिएर मोतीपुर राखिदिएको बुढापाकाहरुले सुनाउथे ।

त्यहि मोतीपुर अहिले धान उत्पादनकालागी मोतिपुर रहेन ।

काटेको धान मात्र होइन, नकाटेको धान पनि ठाडै वालामै टुसा पलाएको छ’, उम्रेको वाला देखाउंदै स्थानिय मोहन बस्नेतले भने ।

हाइव्रिड धान पाकेको समयमा भित्राउन सकिएन र पानी परीरहे वालामै पसाउने गरेको किसानले बताएका छन् । ढलेको धान त खेतमै उम्रिन थालिसकेको छ ।

मौसमविदहरुले बर्षातको संभावनालाई सार्वजनिक गरिसकेका थिए । तर सरकारले मौसमविदहरुले दिएको जानकारीलाई किसानहरुमाझ पुर्‍याउन सकेन ।

तीनै तहका सरकारले किसानलाई पानी पर्दै छ, धान काट्न केहि दिन रोकौं भनेर कहिँ कतै जानकारी नदिएको स्थानिय किसानहरुको गुनासो छ ।

किसानहरु धानखेतमा रोइरहँदा सरकारी कर्मचारी र जनप्रतिनिधिहरु बेखवरजस्तै दशै मनाइरहेका थिए ।

खराइमा राखिसकेको धान डुबेपछि सोहि गाउँका मनीराम चौधरीले पम्पसेट लगाएर गराको पानी तानीरहेका थिए ।

‘काट्न बाँकि त खेतमै डुबयो, खराइमा राखेको धान पनि पानीले उम्रीसकेको छ’, मनीरामले भने, प्रकृतिको खेललाइ कसैले टार्न सक्ने रहेनछ ।

चार बर्ष अघि पनि मोतिपुरको गनारी खेतमा काटेर सुकाएको धान एकै रात परेको पानीका कारण भल आएर धान पुरै बगाएको थियो । तर यति धेरै क्षति त्यो बेला नभएको मनीरामले बताए ।

मोतिपुरमा अधिकांशले जमिनदारको अधिया खेत लगाएका छन् । तर यो बर्ष श्रमको खर्च पनि उठ्न नसक्नेमा उनीहरु चिन्तित छन् । बर्षभरी के खाएर गुजारा गर्ने भन्नेमा उनीहरु चिन्तित छन् ।

बेलटाकुराका सन्त बहादुर बुढाथोकी पनि धानखेतमै मलिन अनुहारमा भेटिएका थिए । जसोतसो मल बिउको जोहो गरेर हुर्काएको धान गासमा हाल्ने वेला सखाप भएपछि उनको मन भक्कानिएको छ ।

‘दशै माने लगत्तै मेसिन लगाएर एकै दिन कटाएको थिएँ, तर दैवले भित्राउन दिएन’, सन्त बहादुरले पत्रकारलाई भने । उनको भनाइ अनुसार ठाडो बुटामा रहेको धान पनि लगातारको झरीले वालामै जागेको छ ।

यसरी वालामै टुसाएको धान पनि खानमा स्वाद नहुने र कुटाउंदै धुलैधुलो हुने उनको अनुभव छ । उनको अनुमानमा यो बर्ष खाद्धान्न निकै महंगो हुने छ । तुलसीपुर उपमहानगरपालिका—१० गौरीगाउका किसान दान बहादुर खड्काको पनि यस्तै नियती थियो ।

भर्खरै फाटेको आकाशमुनी उनले खेतका गरामा धानका लीन फर्काइरहेका थिए । तर उम्रिसकेका दानाले दानवहादुरको मन फाटेको छ ।

पश्चिम दाङमा मोतीपुर तुलसीपुर उपमहानगरपालिकाको अत्यन्तै उव्जनी हुने क्षेत्र मध्येको एक हो ।

त्यहांका किसानहरुले प्राय हाइव्रिड धान रोपेका छन् । तर प्राय सवैको धानवाली वेमौसमी झरीले बर्वाद पारेको मोतीपुरकै स्थाइबासी तथा तुलसीपुर उद्योग वाणिज्यसंघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले बताए ।

बस्नेतले तीनै तहका सरकारले किसानका समस्यालाई सुनेर समाधानको प्रयास तत्काल थाल्नुपर्ने सुझाव पनि दिएका छन् ।

‘गुजारामुखि कृषिलाई निर्यातमुखि बनाउन किसानलाई उत्साहित बनाउनु सरकारको पहिलो प्रार्थमिकता हुनुपर्दछ’, बस्नेत भन्छन्, तर सरकार किसानका समस्यामा बेखवरजस्तै देखिएको छ ।

मोतीपुरबासीका अनुसार किसानहरुलाई यतिविघ्न क्षति भैरहँदा पनि स्थानिय पालिकाका कृषि शाखाका कर्मचारी र जनप्रतिनिधिहरु खेतवारीमा आएर कुनैपनि आश्वासन नदिएको गुनासो गरेका छन् ।

गौरीगाउ, कटाहा, पिरगाउ, मोतिपुर मात्र होइन, तुलसीपुर उपमहानगरपालिका—२ पवननगरका किसानहरु पनि निकै आहत भएका छन् । गासकालागी तयार भएको खाना दैवले उम्काइदिएको उनीहरुले बताएका छन् ।

तैपनि बचेखुचेका वाला स्याहार्न पुरै गाउले खेतमा देखिन्थे । तुलसीपुर—२ का वडाध्यक्ष राजु आचार्य भने किसानसंगै खेतमै भेटिएका थिए ।

‘हाम्रो वडामा कम्तिमा ३० प्रतिशत भन्दा बढि धानखेती नोक्सान भएको प्रारम्भिक अनुमान गरेका छौं’, तुलसीपुर उपमहानगरपालिका पवननगर कुमलगढिमा भेटिएका वडाध्यक्ष राजु आचार्यले भने ।

वडाध्यक्ष आचार्यका अनुसार सवैभन्दा बढि क्षति कुमलगढिमा भएको छ भने तकियापुर नन्द्रागाउं लगायतका क्षेत्रमा पनि काटेका र नकाटेका धानवाली पनि नोक्सान भएको स्थानियबासीले बताएका छन् ।

स्थानियले स्थानिय सरकार, संघिय सरकार र प्रदेश सरकारलाइ डुवानमा नोक्सान भएको वालीको क्षतिपुर्तिकालागी आग्रह समेत गरेका थिए । वडाध्यक्ष आचार्यले किसानलाइ क्षतिपुर्ति एवं सहुलियतका लागि तुलसीपुर उपमहानगरपालिकामा प्रयास गर्ने आश्वासन दिइरहेका थिए ।

आकाश खुल्ने बित्तिकै बिहिवार बिहानै तुलसीपुर उपमहानगरपालिका—१९ थानगाउका किसान पनि खेतमै पुगिसकेका छन् ।

त्यहाँ पनि अधिकांश किसानले धान काटिसकेका थिए । काट्न बांकि धानमा नोक्सान नभएपनि काटिसकेको धानवाली पुरै क्षति भएको स्थानिय शिक्षक सुर्य बहादुर बस्नेतले बताएका छन् ।

त्यहांका किसानहरुले आफ्नो वालीको क्षतिको विवरण टिपाउन तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखालाइ सम्पर्क गरेका थिए, तर कोहि पनि नआएको किसानहरुले बताएका छन् ।

पश्चिम दाङमा यी बस्तीहरु त प्रतिनिधिपात्र मात्रै हुन्, दंगिशरण गाउपालिका, शान्तिनगर गाउपालिका, घोराही, तुलसीपुर, लमही, राप्ती लगायत सवै पालिकाहरुमा कहि न कहि तयार भैसकेको धानवाली नोक्सानी भएको छ ।

प्रारम्भिक अनुमानमा जिल्ला कृषि ज्ञानकेन्द्रले ३० प्रतिसत धानवाली नोक्सानी भएको बताएपनि फसल नभित्राएसम्म क्षतिको एकिन विवरण आउन नसक्ने किसानहरुले बताएका छन् । नकाटेको धान पनि पुरै उम्रिने अवस्था आएमा क्षति यो भन्दा धेरै गुना बढि हुने किसानहरुको अनुमान छ ।

किसानको आत्मवल बढाउः कांग्रेस
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले वेमौसमि बर्षातका कारण हजारौं किसानले लगाएको धानवालीमा क्षतिपुगेकोमा दुःख व्यक्तगर्दै किसानहरुलाइ आवस्यक क्षतिपुर्ति उपलव्ध गराएर उनीहरुको हौसला बढाउन तीनै तहका सरकारसंग आग्रह गरेको छ ।

क्षेत्रिय सभापति जगत वहादुर खड्काले विहिवार एक विज्ञप्ती जारीगर्दै कम्तिमा पनि ६० प्रतिसत भन्दा बढि नागरीकहरु कृषिमा आश्रित भएको जनाउंदै उनीहरुको पिडामा साथ दिन स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाइ आग्रह गरेका छन् ।

‘कृषिबाटै मुलुकको समग्र आर्थिक समृद्धि हुने अवस्थामा किसानलाइ परेको यो प्राकृतिक प्रकोपमा सरकार गम्भीर हुन आवस्यक छ, भित्राउन तयार भएको गास खोसिएका किसानहरुलाइ तत्काल क्षतिपुर्ति र राहत प्याकेज ल्याउन तीनै तहका सरकारसंग जोडदार माग गर्दछौं’, जारी विज्ञप्तीमा जनाइएको छ ।

साथै विज्ञप्तीमा किसानहरुले जसो जसो मल विउको जोहो गरी खेतीपाती गर्दे आएको अवस्थामा अव उनीहरुलाइ राहत प्याकेज ल्याएर आत्मवल बढाएर कृषि पेषामै अडिने वातावरण निर्माण गर्न सरकारलाइ आग्रह गरीएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस