
सल्यान, २ कार्तिक ।
लगातारको वर्षाका कारण सल्लीबजार चौरजहारी सडकखण्ड अवरुद्ध भएको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको धारापानी भन्ने ठाँउमा गएको पहिरोले मंगलबार (आज) बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।
ठाउँ-ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएका कारण यात्रुहरू सडकमै अलपत्र परेका छन् । सडक हिलाम्मे भएकाले पैदल हिँडेर आउजाउ गर्न समेत कठिन भएको स्थानीय रमेशकुमार बस्नेतले बताउनुभयो ।
सडक अवरुद्ध भएकै कारण गाडी चल्न नसक्दा पेट दुख्ने समस्याले थलिएकी एक महिलालाई उपचारका लागि बाहिर लैजान नसकेको र अस्पताल लैजान नसकेर मेडिकलमा प्राथमिक उपचार गराइरहेको बन्गाड कुपिण्डे नगरपालिका १० का नन्दे पुनले बताउनुभयो ।
पहिरो हटाउन सल्लीबजारबाट अहिले प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार