विराटनगरबाट मानव अङ्ग खप्पर र हड्डीसहित दुईजना पक्राउ

विराटनगर । नेपाल भारत सीमा क्षेत्र विराटनगरबाट प्रहरीले मानव अंग खप्पर र हड्डी बरामद गरेको छ । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ ।

विराटनगरको भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शंकास्पद वस्तु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मानिसको खप्पर र हातखुट्टाको हड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।

भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद गरेको हो । वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए ।

भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यान ती सामग्री बरामद भएको थियो ।

प्रहरीले भ्यानका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भ्यानमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौं लैजाने तयारी रहेको बयान दिएका छन् ।

उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस