लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणाको एक वर्ष पुरा, कार्यान्वयनमा सकस


दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका घोषणा भएको आज एक वर्ष पूरा भएको छ । प्रदेशसभा स्थापना भएको तीन बर्षपछि गतबर्ष असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो ।

देउखुरीको राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका १ र २ नम्वर र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको १, २ र ३ नम्वर वडालाई समेटेर राजधानी घोषणा भएपछि प्रदेशका संरचना स्थायी राजधानीमा सर्ने र त्यही अनुसारका संरचनाहरु निर्माण हुने जनतामा अपेक्षा थियो । तर राजधानी घोषणा भएको एक बर्ष बितिसक्दा पनि अस्थायी राजधानी बुटवलबाटै प्रदेश सरकारका कामहरु हुने गरेका छन् ।

मन्त्रालयका मन्त्रीदेखि कर्मचारीहरु अस्थायी राजधानीमै बस्दा राजधानी कार्यान्वयनमा सकस देखिएको छ । प्रदेश राजधानीका लागि आवश्यक पर्ने प्रदेशसभा भवन र प्रदेशको गुरुयोजना निर्माणको काम सुस्त छ ।

सम्झौता अनुसार असोज महिनाभित्र प्रदेशभा हल र प्रदेशको राजधानी विकासका लागि आवश्यक पर्ने गुरुयोजना निर्माणको काम सम्पन्न हुनुपर्ने हो तर अहिलेसम्म काम पूरा हुन नसकेको प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले जनाएको छ ।

प्रदेशसभा भवन असोज २७ गतेसम्म निर्माण सक्नुपर्ने भए पनि करिब २० प्रतिशत मात्र काम भएको प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले जनाएको छ । प्रदेशसभा भवनको जग बसाल्ने कम पूरा भएको र अब जमिनमाथिको काम हुन बाँकी रहेको छ ।


सम्झौताअनुसार सक्नुपर्ने काम भए पनि कोरोना भाइरसका कारण बीचमा काम गर्न नपाउँदा प्रदेशको गुरुयोजना निर्माणमा केही ढिलाई भइरहेको प्रदेश पूर्वाधार प्राधिकरणका आर्किटेक इन्जिनियर बासु पौडेलले बताए ।

प्रदेश राजधानी घोषणा भएपछि पहिलोपटक स्थायी राजधानीमा ग्रामीण तथा सहरी विकास मन्त्रालय आएको हो । त्यसभन्दा पहिले प्रदेश विकास प्राधिकरण कार्यालय र प्रदेश राजधानी व्यवस्थापन कार्यालय स्थापना भएका छन् । तर प्रदेश विकास प्राधिकरण कार्यालय बाहेकका अन्य मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु छैनन् ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस