श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा गएको छ । नेपालगञ्जका लागि उड्न लागेको एनएएनएफ कल साइन भएको क्यु४००–८ जहाज पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा चिप्लिएर घाँसतिर गएको हो ।

सो जहाज मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जाने क्रममा चिप्लिएर एउटा चक्का घाँस क्षेत्रमा फसेको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ ।

अहिले जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयासमा जुटेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उक्त जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस