दाङमा आजदेखि थप साढे ३२ हजार नागरिकलाई खोप लगाईदै


दाङ । दाङमा आजदेखि थप साढे ३२ हजार नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ । चिनबाट ल्याईएको भेरोसेल खोप दाङमा आजदेखि ११ गते सम्म साढे ३२ हजार नागरिकलाई लगाउने तयारी भएको हो ।

पछिल्लो चरणमा ३१ हजार डोज आएको र यस अघिको १५ सय डोज समेत गरी साढे ३२ हजार जनालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

खोप ४५ देखि ५० बर्ष सम्मका र यस अघि छुटेका कक्षा १२ का विद्यार्थी सँगै ५० बर्ष भन्दा माथीकालाई लगाईने उहाँको भनाई छ । खोप जिल्लाका दशवटै पालिका पुर्‍याइसकिएको छ ।

जिल्लामा अहिलेसम्म करिब ३४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा कुल जनसंख्याको करिब एक लाख ३० हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले जानकारी दिए ।

गतवर्षको फागुनको अन्तिम सातादेखि शुरु गरिएको खोप अभियानमा अहिलेसम्म फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, संचारकर्मी, जनप्रतिनिधि र ५० वर्ष माथिका नागरिकलाई खोप लगाइएको फोकल पर्सन वलीले जानकारी दिए ।

यस्तै कक्षा १२ को परिक्षा दिने दश हजार बढी विद्यार्थीले पनि खोप लगाएका छन् । उनका अनुसार कोभिशिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ र जोन्सन एण्ड जोन्सन ३४ हजार बढीले लगाएका छन् ।।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस