गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

गुल्मी । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नं. ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ बर्षका जुम्ल्याहा छोरी गंगा र जमुनाको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

राती करिब १ बजे घर माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये तीन जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस