
काठमाडौं । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
खोप आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाले भने, ‘यस अघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । तर यो पटक एक भाइलमा ५ डोज खोप छन् । त्यसैले एउटै फ्लाइटमा एकै पटक ४४ लाख खोप ल्याउन सम्भव भएको हो ।’
चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने छ ।
त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ । काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ ।
‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको महाशाखाले जनाएको छ ।