काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो शुक्रबारसम्म चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज खोप नेपाल आउने जनाएको छ ।
मन्त्रालयका अनुसार चीनसंग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।
बाँकी ४० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज १५ सेप्टेम्बरमा चीनको राजधानी बेइजिङ जादैछ सो जहाजले शुक्रबारसम्म ४० लाख डोज खोप काठमाडौं ल्याउनेछ ।
स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडेर्ना खोप ल्याउने टुङ्गो लागिसकेको बताएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा पूरा मात्रा खोप लगाउनेको संख्या १७.४१ प्रतिशत पुगेको छ । त्यस्तै पहिलो मात्रा मात्र खोप लगाउनेको संख्या समेत हिसाब गर्दा खोप पाउनेको संख्या १९.४५ प्रतिशत छ ।
प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार