दाङ । बुधबार र बिहिबार तुलसीपुरमा बौलाह कुकुरको टोकाइबाट २६ जना बढी घाइते भए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का विभिन्न स्थानमा बौलाह कुकुरको टोकाइबाट घाइते भएकाहरु रेबिज विरुद्धको खोप लगाउन राप्ती प्रादेशिक अस्पताल तुलसीपुर आए । तर घाइते सबैको अस्पतालमा उपचार हुन सकेन् ।
बौलाह कुकुरले टोक्दा घाइतेको उपचार हुन नसकेपछि जिल्ला बाहिर उपचारका लागि काठ्माण्डौँ जानुपर्ने बाध्यता भएको छ । अस्पतालमा इमोग्लोबिन नामको भ्याक्सीन नहुँदा कतिपय बिरामीलाई बाहिर पठाएको मेसु डाक्टर बिनोद सिंहले बताउनुभयो । ‘जटिल प्रकृृतिको घाइते भएकालाई इमोनोग्लोबिन भ्याक्सीन दिनुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो-‘यो भ्याक्सीन हामीकहाँ छैन्, सरकारले नै यो भ्याक्सीन उपलब्ध गराउने गरेको छैन् ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले प्रादेशिक अस्पताल भएपनि सरकारको वेवास्ताका कारण जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘अस्पतालमा अहिले पनि ५० बेडको जनशक्तिले सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।’ उहाँले भन्नुभयोे-‘रेबिजको भ्याक्सीनमा पनि त्यस्तै भएको छ, इमोग्लोबिन भ्याक्सनी अहिले अस्पतालमा छैन्, प्रदेशस्तरको अस्पतालको नाम पाएपनि सोहि अनुसारको सेवा दिन सकेका छैनौँ ।’
तत्काल खोप उपलब्ध गराउने नगरको निर्णय
बौलाह कुकुरको बिगबिगी बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाको आकस्मीक बैठक बसेर बौलाह कुकुरले टोकेका बिरामीलाई निशुल्क खोप उपलब्ध गराउने पहल गर्ने निणर्य गरेको छ । इमोग्लोबिनको अभावमा बिरामीलाई काठ्माण्डौ जानुपर्ने बाध्यता भएको हुँदा तत्काल २० डोज खोप खरिद गर्ने नगरले निणर्य गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
‘बौलाह कुकुरको बिगबिगी बढेकाले नागरिकलाई सरल तरिकाले उपचार पाउनका लागि अहिले इमोग्लोबिन खोप २० डोज खरिद गर्ने निणर्य गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘खोप सबै नागरिकलाई निशुल्क उपलब्ध गराउने छौँ ।’ इमाग्लोबिन खोप बजारमा कम पाइने गरेकोले नगरले आफै खोप खरिद गर्ने निणर्य गरेको हो । यो खोपको मुल्य प्रति डोज १० हजार पर्ने गरेको छ भने जटिल प्रकृतिका बिरामीलाई इमोग्लोबिन खोप दिने गरिन्छ । कुकुरको टोकाइबाट बच्नका लागि नागरिकलाई सचेतना दिन ठाउँ ठाउँमा सचेतना दिन थालिएको उहाँले बताउनुभयो ।
आजबाट पशुलाई रेबिजविरुद्धको खोप दिइने
बौलाह कुकुरले मानिसलाई टोकेर घाइते बनाउन थालेपछि तुलसीपुरमा आइतबारदेखि टोकिसकेका पशु, घरपालुवा पशु, छाडा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सीन दिइने भएको छ । नगरको पशु सेवा शाखा प्रमुख डा. मनोज वलीले टोकिसकेका कुकुरलाई पोष्टबाइट खोप दिन लागेको बताउनुभयो । ‘रेबिजबाट नागरिकलाई सुरक्षित गराउनका लागि पशुलाई खोप दिन लागेका छौँ ।’ उहाँले भन्नुभयो-‘घरपालुवा र छाडा कुकुरलाई एन्टी रेबिज खोप दिन लागेका छौँ ।’ बौलाहा कुकुर, छाडा पशुचौपाय, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न उनले आग्रह गरेका छन् ।
मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले शुक्रबार दिउँसोसम्म २६ जनालाई बौलाह कुकुरले टोकेको बताए । ‘अस्पतालमा बौलाह कुकुरको टोकाईबाट घाइते हुने बिरामीको संख्या आउने क्रम बढ्दै गएको छ ।’ उनले भने-‘ प्रादेशिक अस्पतालमा बुधबारदेखि बौलाह कुकुरले टोकेका बिरामी आएका छन्, हरितालिका तीजको दिनमा मात्रै १५ जना बढीलाई कुकुरले टोकेको छ ।’ बौलाह कुकुरको बिगबिगी बढ्न थालेपछि नागरिक त्रसित बनेका छन् ।