दाङमा भदौ २७ र २८ गते कक्षा १२ को परीक्षार्थीलाई कोरोना खोप दिइने

२४ भदौ, दाङ । दाङमा भदौ २७ र २८ गते कक्षा १२ को परिक्षा दिने विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिइने भएको छ ।

जिल्लामा १० हजार बढी कक्षा १२ को परिक्षा दिने विद्यार्थीलाई आगामी भदौ २७ र २८ गते दुई दिन खोप दिन लागिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

कार्यालयले दुई दिनमा दाङका १० वटै स्थानीय तहबाट कक्षा १२ को नियमित र आंशिक परिक्षा दिने विद्यार्थीहरूलाई उनीहरुको प्रवेशपत्रका आधारमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइने सूचनामा उल्लेख गरिएको छ ।

प्रमुख शाहीकाअनुसार घोराहीमा ३ हजार आठ सय ४६ जनालाई, तुलसीपुरमा ३ हजार ३ सय ८९, लमहीमा ९ सय ९९ लाई खोप दिइने भएको छ ।

त्यसैगरी राप्ती गाउपालिकामा ७ सय ११, बबई गाउँपालिकामा १ सय ९१, बंगलाचुली गाउँपालिकामा ५२, दंगीशरण गाउँपालिकामा ८७ जना विद्यार्थीलाई खोप दिइने लक्ष्य रहेको जनाएको छ ।

त्यस्तै गढवा गाउँपालिकामा ४ सय ५८, राजपुर गाउँपालिकामा १ सय ३३ र शान्तिनगर गाउँपालिकामा २ सय ९१ गरी जम्मा १० हजार १ सय ५७ जनालाई खोप दिने सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित विद्यार्थीले आफ्नो कक्षा १२ को प्रवेश पत्रको साथमा आफ्नो पाएक पर्ने स्थानमा गएर पहिलो मात्राको खोप लगाउन सक्ने प्रमुख शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस